कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का केन्द्रीय समिति सदस्य तथा कालेबुङ नगरपालिकाका पूर्व नगरपालिका अध्यक्ष रवि प्रधानले पार्टीको साधारण सदस्यता सहित केन्द्रीय समितिको सदस्यता र आफूले सम्हाल्दै आएका सम्पूर्ण पद तथा जिम्मेवारीबाट राजीनामा दिएका छन्। राजीनामा पत्रमा उनले हाल केही नितान्त व्यक्तिगत तथा पारिवारिक समस्याहरू उत्पन्न भएकाले संगठनको जिम्मेवारीलाई पूर्ण न्याय गर्न असमर्थ भएको उल्लेख गरेका छन्। कसैको दबाब, करकाप वा पूर्वाग्रहका कारण नभई पूर्ण रूपमा स्वेच्छाले यो निर्णय लिएको पनि उनले स्पष्ट पारेका छन्।
रवि प्रधानले पार्टीका केन्द्रीय तथा जिल्ला समिति, भ्रातृ संगठनका पदाधिकारी, सहकर्मी, साथीहरू तथा क्षेत्रवासी दाजुभाइ दिदीबहिनीप्रति सहयोग र विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै आफ्नो राजीनामा स्वीकृत गरिदिन अनुरोध गरेका छन्। राजीनामा पत्रमा उनले पार्टीको केन्द्रीय अध्यक्ष तथा सचिवलाई सम्बोधन गर्दै लामो समयदेखि संगठनमा विभिन्न उत्तरचढावका बीच पनि जनसेवाको भावनासहित काम गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन्। उनले समाज सेवा, जनसमस्याको समाधान तथा क्षेत्रीय विकासका लागि काम गर्न पाएको अवसरप्रति पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।
रवि प्रधानको यस निर्णयलाई लिएर भागोप्रमोको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। राजनीतिक वृत्तमा भने उनको राजीनामालाई महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।











