गान्तोक: सिक्किम सरकारको सिक्किम चलचित्र प्रवर्द्धन बोर्ड (सिक्किम फिल्म प्रमोशन बोर्ड) का अध्यक्ष तासी छिरिङ भोटियाले तेस्रो इन्फा अन्तर्राष्ट्रिय नेपाली चलचित्र पुरस्कार (इन्फा अवार्ड २०२६) को शीर्ष पाँच फाइनलिस्टमा पर्न सफल सिक्किमेली कलाकारहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले मुख्यमन्त्री पी एस तामाङको कला र प्रतिभालाई सही दिशा दिने मार्गदर्शनको स्मरण गर्दै सिक्किमकी श्यामा श्री शेर्पा र विश्वास तिम्सिनालाई बधाई दिएका हुन्। श्यामा श्री शेर्पा चलचित्र ‘माइतीघर’ बाट उत्कृष्ट नव-अभिनेत्री र विश्वास तिम्सिना चलचित्र ‘जेरी अन टप’ बाट उत्कृष्ट पटकथाको विधामा शीर्ष पाँचमा मनोनयन हुन सफल भएका हुन्।
अध्यक्ष भोटियाले सिक्किमेली कला क्षेत्रका लागि यो अत्यन्तै गर्वको क्षण भएको उल्लेख गर्दै दुवै जनाको समर्पण र प्रतिभाले सिक्किमको चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा एक नयाँ उचाइ दिएको बताए। आगामी १५ अगस्ट २०२६ का दिन काठमाडौँमा आयोजना हुने अन्तिम चरण (फाइनल राउन्ड) का लागि उनले दुवै प्रतिभालाई सिक्किम चलचित्र प्रवर्द्धन बोर्ड र सिक्किमवासीका तर्फबाट पूर्ण सफलताको कामना गरेका छन्। यस मनोनीतले सम्पूर्ण सिक्किमेली चलचित्रकर्मीहरूमा नयाँ उत्साह थपेको भन्दै उनले कलाकारहरूको अथक प्रयासको खुलेर प्रशंसा गरे।
यसै अवसरमा अध्यक्ष भोटियाले सिक्किमका सम्पूर्ण युवा तथा सिर्जनशील पुस्तालाई चलचित्रका माध्यमबाट आफ्ना कथाहरू विश्वसामु ल्याउन विशेष अपिल समेत गरेका छन्। नयाँ सोच र जोसका साथ अघि बढ्न प्रोत्साहन दिँदै उनले रचनात्मक विचार र मौलिक कथाहरूलाई चलचित्रको रूपमा प्रस्तुत गर्न आह्वान गरे। प्रत्येक व्यक्तिको सोच, लिपि र कथाको आफ्नै महत्त्व हुने भन्दै बोर्डले आगामी दिनमा पनि सिक्किमका रैथाने प्रतिभा र कथाहरूलाई प्रवर्द्धन गर्न सधैं सहयोग गर्ने प्रतिबद्धता सन्देशमार्फत व्यक्त गरेका छन्।











