सरकारसँग मिलेर काम गर्ने हाम्रो नीति: अनित थापा
सोनादा: रंगबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत रंगबुल खोलामाथिको ६१ मिटर लामो स्टिल ब्रीज अनि मिलिङ चियाबारीदेखि चन्द्रमानधुरा हुँदै रंगमुक चियाबारीको कारखानासम्मको ५.१३३ किलोमिटर सड़कको उद्घाटन जीटीए प्रमुख कार्यपाल अनितको बाहुलीबाट गरिएको छ। यस उदघाटन कार्यक्रममा जीटीएको चेयरम्यान अञ्जुल चौहान, भाइस चेयरम्यान राजेस चौहान, कार्यकारी सभासद रतन थापा, सभासद ढेन्डुप पाख्रिन, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री लगायत विभागीय अधिकारीहरु उपस्थित रहेका थिए।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष तथा जीटीएका प्रमुख कार्यपाल अनित थापाले आज रंगमुक–धोतरिया समष्टिमा नवनिर्मित ६१ मिटर लामो स्टिल पूलको उद्घाटन गर्दै आफ्नो दलको राजनीतिक रणनीति र पहाड विकासप्रति प्रतिबद्धता पुनः प्रकाशित गरे। उद्घाटन कार्यक्रमको समय उनले दिएको वक्तव्यमा थापाले मुख्यतः तीनवटा ऐक्यबद्ध सन्देश दिएका थिए: सरकारसँग टकराव होइन, समन्वयमा काम गर्ने, जीटीए क्षेत्रको दिगो विकास र शान्ति सुनिश्चित गर्ने र स्थानीय जनताको समृद्धिका लागि पूर्वाधार निर्माणलाई तिव्रता दिने।
कार्यक्रममा थापाले भने, “जीटीए चुनाव जितेपछि हामीले प्राथमिकताका कामहरू अघि बढाएका थियौँ र धोतरिया–रंगमुकमा आवश्यक कामहरू त्यसै अनुरूप गर्यौँ। आज उद्घाटन गरेको रंगबुल खोलामाथिको ६१ मिटर लामो स्टिल ब्रिज त्यही प्रयासको परिणाम हो।” उनले पार्टीले स्पष्ट भिजन बोकेको बेलादेखि व्यवहारमा पनि त्यो भिजन आधारभूत रहेको दावी गरे र भविष्यमा पनि उही नीति जारी रहने बताए। अनित थापाले राज्य सरकारको एक्ट अनुसार स्थापित रहेको जीटीए हो अनि यहाँ “हामीले राज्यसँग मिलेर नै काम गर्नुपर्छ” भनी जोड दिए। उनले थपे, “हिजो जसरी कसैलाई नबिझाई काम गर्यौँ, आज पनि र भोलि पनि त्यही गर्नेछौँ। हाम्रो लडाई विचारको हो; वैचारिक सङ्घर्ष जारी रहनेछ।”

थापाले स्थानीय निर्वाचनपछि पनि विकास कार्यलाई निरन्तरता दिने प्रतिवद्धता दोहोर्याउँदै भने, “चुनाव कति आए कति गए, हाम्रो पाइला कहिले रोकिने छैन। चुनाव सकियो, हार जित भइसक्यो; अब सबै मिलेर पहाडको उन्नतिको निम्ति काम गर्नुपर्छ। झगडा गरेर हुँदैन, गनगन गरेर हुँदैन।” उनले स्थानीय प्रतिनिधिहरूलाई आफ्नो विचार र सिद्धान्त लिएर जहाँ पनि गएर राम्रो काम गर्न प्रेरणा दिए। पर्यटन संवेदनशिलताको विषय उठाउँदै थापाले उल्लेख गरे,“दार्जिलिङमा अत्याधिक सङ्ख्यामा पर्यटक आएकोले स्थानीय बासिन्दालाई असर परेको छ। अब दार्जिलिङ मात्र होइन, छिमेकी कमानहरूले पनि पर्यटन प्रवर्ध्दनका लागि पहल गर्न थाल्नुपर्छ।” त्यस्तै उनले सडक र पुल निर्माण मात्र नभएर ती पूर्वाधारबाट जनतालाई व्यावहारिक लाभ पुग्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए। समारोहमा स्थानीय पञ्चायत सदस्य, पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरूको उपस्थिति रह्यो। ब्रिज उद्घाटन कार्यक्रमपछि अनित थापाले तत्कालीन समस्या उच्च प्राथमिकतामा राख्दै सामुदायिक विकासका थप योजनाहरू घोषणा गर्ने सङ्केत पनि गरे।









