गान्तोक: सिक्किममा भारतीय जनता पार्टी (भाजपा) को सांगठनिक विस्तारलाई अझ मजबुत पार्दै आज गेजिङ जिल्लाको युक्सोममा आयोजित एउटा विशेष कार्यक्रममा ६२ परिवार औपचारिक रूपमा भाजपामा सामेल भएका छन्। भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापाको संगठनात्मक भ्रमणको अवसरमा यो आम रूपमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको प्रेस विज्ञप्तिमा जनाइएको छ।
यस सांगठनिक भ्रमणमा प्रदेश उपाध्यक्ष एनके सुब्बा, महासचिव दिनेश चन्द्र नेपाल, वरिष्ठ पार्टी पदाधिकारीहरू, गेजिङ जिल्ला अध्यक्ष डिगुम लिम्बू, मण्डल अध्यक्ष किन्जाङ शेर्पा भोटियालगायत जिल्लाका अन्य पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले केन्द्र सरकारद्वारा सञ्चालित विभिन्न जनकल्याणकारी योजना र विकास कार्यक्रमहरूबारे प्रकाश पार्नुभयो। उहाँले नयाँ सामेल भएका परिवारहरू र पार्टी कार्यकर्ताहरूलाई सिक्किमका जनताको उत्थान एवं समग्र विकासका निम्ति एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो। यसै गरी, प्रदेश उपाध्यक्ष सुब्बाले नयाँ सदस्यहरूलाई खदा लगाएर पार्टीमा स्वागत गर्दै राज्यभरि भाजपाको वर्तमान गतिविधि र संगठनको अवस्थाबारे जानकारी गराउनुभयो भने मण्डल अध्यक्ष भोटियाले निर्वाचन क्षेत्र स्तरमा भइरहेका दलीय कार्यहरूबारे चर्चा गर्नुभयो।
यस कार्यक्रमको एक विशेष कडीको रूपमा प्रदेश अध्यक्ष थापाले क्षेत्रका योग्य लाभार्थीहरूलाई आयुष्मान कार्ड र ई-श्रम कार्ड वितरण गर्नुभयो। यस कार्डमार्फत अब स्थानीय जनसाधारणले आयुष्मान भारत योजना अन्तर्गत ५ लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य उपचार र ई-श्रम योजना मार्फत विभिन्न सामाजिक सुरक्षाको लाभ सीधा प्राप्त गर्न सक्नेछन्।
यसअघि, प्रदेश अध्यक्षको यस युक्सोम भ्रमणको सुरुवात सिक्किमको ऐतिहासिक प्रथम राजधानीस्थित पवित्र नोर्बुगाङ गुम्बामा पूजा-अर्चना गरी सुख, शान्ति र समृद्धिको कामनाका साथ गरिएको थियो। भाजपा सिक्किमले यस भ्रमणलाई पूर्ण रूपमा सफल घोषित गर्दै ६२ परिवारको सामूहिक आगमनले राज्यमा भाजपाप्रतिको बढ्दो जनविश्वास र जनसमर्थनलाई स्पष्ट पारेको दाबी गरेको छ।








