रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङको तरुण खेलकुद संघले प्री क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा मंगलवार भएको म्याचमा तरुण खेलकुद संघले धोतरिया पुलबजार फूटबल क्लब (डीपीएफसी)-लाई ४-१ पराजित गऱ्यो। विजेता टीमबाट निश्चल कार्की, अनिश छेत्री, नवांग र राजेन थामी गोल गरे। यसरी नै डीपीएफसी-बाट उमंग राईले १ गोल गरे। नवांगलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










