खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा जारी २ स्तरीय खरसाङ सुपर लीग फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा शुक्रवार २ वटा म्याच खेलियो। आज गोथल्स मेमोरियल स्कूल मैदानमा ए डिभिजनको २ वटा म्याच खेलियो। पहिलो म्याचमा युनाइटेड खरसाङ फूटबल क्लबले खरसाङ लिजेण्ड्स विरुद्ध ८-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सदिस राईले ह्याट्रिक गरे। यसरी पुष्करले १ गोल गरे। यसबाहेक अनिकेत, नयन प्रधान र रुस्तम प्रधानले १-१ गोल गरे। यसरी खरसाङ लिजेण्ड्सको तर्फबाट नवांग शेर्पाले १ गोल गरे। सदि राईलाई प्लेयर अफ द म्याच चयन गरियो। उनलाई फुर्बा लामाको बाहुलीबाट सर्टिफिकेट प्रदान गरियो। यसरी दोस्रो म्याचमा युनाइटेड मकैबारीले टुंग विरुद्ध ६-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रोनित तामाङ र सोयेलले २-२ गोल गरे। अन्य २ वटा गोल पासंग र करणले गरे। रोनित तामाङलाई प्लेयर अफ द म्याच चयन गरियो। उनलाई नन्दन प्रधानको बाहुलीबाट सर्टिफिकेट प्रदान गरियो। आज दुवै म्याचको सञ्चालन हिल रेफरीज एसोसिएशनका अधिकारीहरूले गरे। नितेश देवान मुख्य रेफरी थिए। सहायक रेफरीको भूमिकामा केविन राई र मनीष थापा थिए। फोर्थ अफिसियलमा सौरभ शंकर रहेका थिए।









