यूएस ओपनबाट सेरेना विलियम्स र एण्डी मर्रेको बिदाई

IMG-20220903-WA0100.jpg

३ सेप्टेम्बरः गत दुई दशकभन्दा अधिक समयदेखि टेनिस कोर्टमा अनगन्ती कीर्तिमान स्थापित गर्ने दिग्गज महिला खेलाड़ी सेरेना विलियम्सको यूएस ओपन टेनिस टुर्नामेण्टमा अभियान तेस्रो राउण्डमा समाप्त भयो। यसरी नै पुरुष एकलमा अन्य एक दिग्गज एण्डी मर्रे पनि पराजित भए। यूएस ओपन उनको अन्तिम टुर्नामेण्ट हुने सेरेनाले अगावै संकेत दिएकी थिइन्। यसरी २३ पल्टकी ग्राण्ड स्ल्याम विजेताले फ्लशिंग मिडोजबाट बिदा लिइन्। विश्वकी पूर्व नम्बर एक खेलाड़ी सेरेना शुक्रवार राति तीन घण्टाभन्दा अधिक समयसम्म चलेको म्याचमा क्रोएशियाई खेलाड़ी अजला टमलजानोविच विरुद्ध ७-५, ६-७ (४), ६-१-ले पराजयको सम्मुखीन भइन्। सेरेनाले पाँचवटा म्याच पोइण्ट बचाइन् तर अन्तिम प्रयासमा बल नेटमा अल्झिँदा उनको आँखाबाट आँशु बह्यो। म्याचपछि सेरेनाले भनिन्, यो मेरो निम्ति अहिलेसम्मको सबैभन्दा अविश्वसनीय परिणाम रह्यो। म ती सबै व्यक्तिहरू प्रति आभारी छु, जसले सेरेना अघि बढ़ भनी मेरो हौसला बढ़ाए।

यूएस ओपनमा सेरेना पहिलोपल्ट १९९९-मा खेलेकी थिइन्। उनी त्यस समय केवल १७ सालकी थिइन्। अहिले उनकी पाँच सालकी छोरी रहेकी छन्। सेरेना यस महिना ४१ वर्षकी हुनेछिन्।

यसबीच पुरुष एकलमा तीनपल्टका ग्राण्ड स्ल्याम च्याम्पियन ब्रिटेनका मर्रेलाई साढ़े तीन घण्टासम्म चलेको म्याचमा इटलीका माटेओ बेरेटिनीले ६-४, ६-४, ६-७ (१), ६-३-ले पराजित गरे। मर्रेले भने, मैले आफ्नो खुट्टाको माथिल्लो हिस्सामा धातु लगाएको छु। यसैकारण खेल्नु सजिलो छैन। यो मुश्किल छ। यस्तो भएर पनि मैले ती खेलाड़ीहरूलाई कड़ा चुनौती दिइरहेको छु, जो आफ्नो खेलको शीर्षमा रहेका छन्। यो अचम्भको कुरा हो। यसबीच महिला एकलमा फ्रेञ्च ओपनको फाइनलमा पुग्ने १८ वर्षीय अमेरिकी खेलाड़ी कोको गफले मेडिसन कीजलाई ६-२, ६-३-ले पराजित गरी पहिलोपल्ट यूएस ओपनको चौथो राउण्डमा स्थान बनाइन्। अब गफको सामना चीनकी झांग शुआईसँग हुनेछ। शुआईले रेबेका मेरिनोलाई ६-२, ६-४-ले पराजित गरिन्।

यसरी नै विम्बल्डनको फाइनलिष्ट ओन्स जाबूरले ३१औं वरीयता प्राप्त शेल्बी रोजर्सलाई ४-६, ६-४, ६-३-ले पराजित गरिन्। अब उनको सामना वेरोनिका कुडरमेतोवासँग हुनेछ, जसले डालमा गल्फीलाई केवल ४७ मिनटमा ६-२, ६-०-ले पराजित गरिन्। पुरुष एकल वर्गमा फ्रेञ्च ओपनमा उपविजेता रहने नर्वेका कास्पर रुडले २९औं वरीयता प्राप्त टमी पललाई पाँच सेटमा पराजित गरे। यसरी नै २७औं नम्बरका खेलाड़ी करेन खाचानोवले आफ्ना प्रतिद्वन्द्वी ज्याक ड्रेपर चोटग्रस्त भएर तेस्रो सेटमा खेलबाट हट्दा अघिल्लो राउण्डमा स्थान बनाए।

About Author

Advertisement