२१ जूनः यूएफा यूरो कप २०२४ क्वालीफायर्समा पोर्तुगलको साथमा नर्वे र बेल्जियमले जीत हासिल गऱ्यो। यसरी नै पोल्याण्डले चाहिँ पराजयको सामना गर्नु पऱ्यो। पोर्तुगलले ग्रुप जे-मा आफ्नो अजेय अभियान जारी राख्दै मंगलवार राति आइसल्याण्ड विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। आफ्नो रेकर्ड २००औं अन्तर्राष्ट्रिय म्याच खेल्न मैदानमा ओर्लिने दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोले टीमलाई म्याचको एकमात्र गोल दिलाए। उनले ८९औं मिनटमा गोल गरे। म्याचमा आइसल्याण्डका विंगर विलम विलमसनलाई ८०औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि पोर्तुगल ४ वटा म्याचमा १२ पोइण्ट्सको साथ ग्रुपको शीर्षमा कायम रह्यो। यसरी नै स्लोभाकियाले लिचेन्स्टाइनलाई १-०-ले पराजित गऱ्यो। ग्रुपको अन्य एउटा म्याचमा लक्जमबर्गले बोस्निया एण्ड हर्जेगोविनालाई २-०-ले पराजित गऱ्यो। ग्रुप जे-मा स्लोभाकिया १० पोइण्ट्सको साथ दोस्रो अनि लक्जमबर्ग ७ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ।
यसरी ग्रुप ए-मा नर्वेले साइप्रसलाई ३-१-ले पराजित गऱ्यो। म्याचमा नर्वेका स्टार स्ट्राईकर एर्लिंग हालाण्डले २ गोल गरे। म्यानचेष्टर सिटीबाट खेल्ने यस युवा स्ट्राईकरले ५६औं र ६०औं मिनटमा गोल गरे। ग्रुपको अन्य एउटा म्याचमा स्कटल्याण्डले जर्जियालाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट कालम मेक्ग्रेगरले छैटौं र स्कट म्याकटोमिनेले ४७औं मिनटमा गोल गरे। यस ग्रुपमा स्कटल्याण्ड १२ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ। ग्रुप एफ-मा बेल्जियमले एस्टोनिया विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। म्याचमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने बेल्जियमबाट अनुभवी रोमेलु लुकाकुले ३७औं र ४०औं मिनटमा २ गोल गरे। एक गोल जोहान बुकायोकोले छिराए। ग्रुपको अन्य एउटा म्याचमा अष्ट्रियाले स्वीडेनलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल क्रिस्टोफ बाउमगार्टनरले दर्ता गरे। उनले ८१औं र ८९औं मिनटमा गोल गरे। ग्रुप एफ-मा अष्ट्रिया १० पोइण्ट्सको साथ पहिलो अनि बेल्जियम ७ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। यसबीच पोल्याण्डले चाहिँ ग्रुप ई-मा मोल्डोवा विरुद्ध २-३-ले हारको सामना गर्नु पऱ्यो। रोबर्ट लेवाण्डोस्कीले ३४औं मिनटमा गोल गरे पनि पोल्याण्ड पराजित भयो। म्याचमा मध्यान्तरसम्म त पोल्याण्ड २-०-ले अघि रहेको थियो तर दोस्रो हाफमा असाधारण प्रदर्शन गर्दै मोल्डोवाले म्याच जित्यो। मोल्डोवाबाट इयोन निकोलास्कुले २ गोल गरे। ग्रुपमा पोल्याण्ड अहिले ३ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ।










