लण्डन: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा एट्लेटिको म्याड्रिड र पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले क्वार्टर फाइनलको २ लेगको चुनौतीलाई पार गरी सेमिफाइनलमा प्रवेश गऱ्यो। यसबीच बार्सिलोनाको चाहिँ टुर्नामेण्टबाट बिदा लियो। मंगलवार राति खेलिएको क्वार्टर फाइनल राउण्डको दोस्रो लेगको म्याचमा एट्लेटिको म्याड्रिडले बार्सिलोनाविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। दोस्रो लेगमा पराजित भए पनि पहिलो लेगको म्याचमा २-०-ले विजयी भएको हुनाले समग्रमा ३-२-ले विजेता बनेर एट्लेटिको म्याड्रिड सेमिफाइनलमा पुग्यो। आफ्नो होम ग्राउण्ड रियाद मेट्रोपोलिटानो स्टेडियममा ४१ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोले बार्सिलोनाबाट कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। स्पेनको दुई अग्रणी क्लबबीच खेलिएको म्याच चरम रोमाञ्चक रह्यो कारण बार्सिलोनाले शुरुमै २ गोल गरी २५ मिनट पनि नभइ समग्रमा २-२-को बराबरी हासिल गरेको थियो। युवा लामिन यामालले चौथो मिनटमा बार्सिलोनाको निम्ति पहिलो गोल गरे। त्यसपछि फेरान टोरेसले २४औं मिनटमा अझ एक गोल गर्दा एट्लेटिको दबाउमा परेको थियो। यसबीच एडेमोला लूकमानले ३१औं मिनटमा दर्शनीय गोल गरी एट्लेटिकोको सम्भावनाहरूलाई जीवित राखे। यसरी समग्रमा ३-२-ले अघि भएपछि एट्लेटिकोले लड़ाकू प्रदर्शन गर्दै बार्सिलोनाको हरेक चुनौतीलाई विफल बनायो। यसबीच म्याचको ७९औं मिनटमा बार्सिलोनालाई ठूलो झट्का लाग्यो। डिफेण्डर एरिक गार्सियाले विपक्षी फरवर्ड एलेक्जाण्डर सरलोथलाई ठेलेर लड़ाउँदा रेड कार्ड देख्नु पऱ्यो। दशजना खेलाड़ीमा सीमित भएपछि पनि बार्सिलोनाले लगातार आक्रमण जारी राख्यो तर टीमले रहल समयमा गोल गर्न सकेन। यसरी स्पेनिश ला लीगा च्याम्पियन बन्ने दिशामा अग्रसर बार्सिलोनाको च्याम्पियन्स लीगमा क्वार्टर फाइनलमै अभियान समाप्त भयो।
यसरी गत सीजनको च्याम्पियन पीएसजी-ले ईंग्लिश प्रीमियर लीगको क्लब लिभरपूललाई दोस्रो लेगको म्याचमा २-०-ले पराजित गऱ्यो। यसअघि पहिलो लेगको म्याचमा पनि २-०-ले नै विजयी भएको हुनाले समग्रमा ४-०-ले विजेता बनेर फ्रान्सीसी क्लब सेमिफाइनलमा पुग्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५७ प्रतिशत पोजेशनको साथ खेल्दै लिभरपूलले सक्दो प्रयास गरे पनि म्याच जित्न सकेन। पीएसजी-को रक्षापंक्तिलाई होम टीमले म्याचमा शुरुदेखि नै व्यस्त राख्यो। यस अवधि लिभरपूलले केही मौकाहरू बनाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। मध्यान्तरसम्म म्याचमा गोल हुन सकेन। दोस्रो हाफमा पनि शुरुवातमा रोमाञ्चक लड़ाइँ भए पनि अन्तिम समयमा औस्माने डेम्बेलेले दिलाएको २ गोलले पीएसजी-लाई जीत दिलायो। डेम्बेलेले ७२औं र इञ्ज्युरी टाइमको पहिलो मिनटमा टीमको निम्ति गोल गरे। सेमिफाइनल राउण्डको पहिलो लेग २९ अप्रेलदेखि शुरु हुनेछ।








