नयाँ दिल्ली: केन्द्रीय गृहमन्त्री अमित शाहले देशका युवाहरूको कल्याण र उनीहरूको उज्ज्वल भविष्य मोदी सरकारको सर्वोच्च प्राथमिकता एवं संकल्प रहेको बताएका छन्। प्रश्नपत्र (पेपर) लीकसम्बन्धी मुद्दाको तीव्र सुनुवाइका लागि ‘फास्ट ट्र्याक कोर्ट’ (द्रुत अदालत) स्थापना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयको उनले स्वागत गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत गृहमन्त्री शाहले प्रश्नपत्र लीक गरेर युवाको भविष्यमाथि खेलबाड गर्नेहरूविरुद्ध प्रधानमन्त्रीको यो निर्णय कोसेढुंगा साबित हुने उल्लेख गरेका छन्। यस कदमले दोषीहरूलाई चाँडै र कडा सजाय सुनिश्चित गर्ने उनको भनाइ छ।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि युवाहरूको भविष्यभन्दा ठूलो अरू केही नभएको भन्दै भविष्यसँग खेलबाड गर्नेहरूलाई कुनै हालतमा नछाडिने स्पष्ट पारेका थिए।
नीट परीक्षामा भएको अनियमितता र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै ‘ककरोच जनता पार्टी’ (सीजेपी) को नेतृत्वमा विद्यार्थीहरूले आन्दोलन जारी राखेका बेला सरकारको यो अभिव्यक्ति आएको हो। हालै आयोजना गरिएको ‘संसद चलो’ मार्चका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा केही विद्यार्थीका साथै १०० भन्दा बढी प्रहरी अधिकारी घाइते भएका थिए।










