गान्तोक: संघ लोक सेवा परीक्षा अर्थात् युपीएससी २०२३-मा १५१औं स्थान हासिल गरी परिवारसँगै सिक्किम राज्यको नाम उज्ज्वल पार्न सक्षम दीपिका अग्रवाललाई आज सिक्किम मारवाड़ी समाजद्वारा अभिनन्दन जनाइयो। उनी केही समयको निम्ति आज गृह राज्य सिक्किम आइपुगेकी छन्।
स्थानीय एक होटलमा सिक्किम मारवाड़ी समाजको ब्यानरमा सम्पन्न आजको अभिनन्दन कार्यक्रममा सिक्किम अग्रवाल कुटुम्ब, सिक्किम महेश्वरी सभा, मारवाड़ी युवा मञ्च गान्तोक सीटी शाखा, श्री जैन श्वेताम्बर तेरापंथ सभा, विप्र फाइण्डेसन जोन ७ सहित मारवाड़ी युवा मञ्च गान्तोक प्रेरणा शाखा, साई संगठनका प्रतिनिधिहरूले खदार्पण गरी उज्ज्वलन भविष्यको कामना गर्दै दीपिका अग्रवाललाई अभिनन्दन जनाए। प्रतिनिधिहरूले दीपिकाका माता-पितालाई पनि बधाई एवं शुभकामना दिए।
अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै दीपिका अग्रवालले आफ्नो जन्मथलोमा यति धेरै माया र आशीर्वाद पाएकोमा खुशी व्यक्त गर्दै परिवार, समाज अनि राज्यको नाम अझ उज्ज्वल बनाएर लैजाने संकल्प गरिन्। आफूबाट हुने सम्भवत सबै सहयोग पुऱ्याउने कटिबद्धता व्यक्त गर्दै उनले आफ्नो अनुभव साझा गर्दै धेरै विद्यार्थीहरूलाई युपीएससीको निम्ति तयार पार्न प्रयास गर्ने वचन दिइन्। गृह राज्यमा यति धेरै माया पाएको आजको दिन आफ्नो निम्ति स्मरणीय रहेको उनले बताइन्।









