दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा बिहीवार २ वटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगअन्तर्गत बड़ा काकझोड़ा युनाइटेड क्लब र युनाइटेड बड़ापत्ताबोंग फूटबल क्लबबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। म्याचमा प्रणय गुरुङले २४औं मिनटमा गोल गरी बड़ा काकझोड़ा युनाइटेडलाई बढ़त दिलाए। त्यसपछि सप्त छेत्रीले ६८औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। यसरी डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगको म्याचमा युनाइटेड फूटबल क्लब दार्जीलिङले हिमालयन फूटबल क्लबलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रणय राईले २६औं र ३०औं मिनटमा २ गोल गरे। यसको साथमा गणेश लिम्बुले २९औं र ४८औं मिनटमा २ गोल गरे। हिमालयन फूटबल क्लबबाट प्रशान्त सुब्बाले ५४औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।










