याङ्थाङमा नवनिर्मित ग्राम पञ्चायत केन्द्र उद्घाटन

FB_IMG_1795717098336

गाउँस्तरमै सहज सेवा र सुशासनमा जोड

​गेजिङ: सिक्किम सरकारको पञ्चायती राज विभागका सचिव दुश्यन्त परियारले आज गेजिङ जिल्लाअन्तर्गत याङ्थाङ ग्राम पञ्चायत एकाइमा नवनिर्मित ग्राम पञ्चायत केन्द्र (जीपीके) को उद्घाटन गरेका छन्। गेजिङका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पालगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो।
​कार्यक्रममा सचिव परियारले शिलालेख अनावरण गरी केन्द्रको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटनपश्चात् अतिथिहरूले नवनिर्मित कार्यालय भवनको अवलोकन गर्दै त्यहाँ उपलब्ध पूर्वाधार र प्रशासनिक सेवा सुविधाबारे जानकारी लिए। सो अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी दिवङ्गत माताको स्मृतिमा उपस्थित सबैले एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
​समारोहलाई सम्बोधन गर्दै सचिव परियारले सरकारी सेवाहरू गाउँस्तरमै नागरिकको पहुँचमा पुर्‍याउन तथा पञ्चायती राज व्यवस्थालाई बलियो बनाउन ग्राम प्रशासन केन्द्रहरूको महत्त्वपूर्ण भूमिका रहने बताए। प्रभावकारी सुशासन र स्थानीय विकास सुनिश्चित गर्न जनसहभागिता, आपसी समन्वय तथा सामूहिक जिम्मेवारी आवश्यक रहेको उनको भनाइ थियो।
​पञ्चायत संस्थाहरू प्रशासन र जनताबीचको महत्त्वपूर्ण सेतुका रूपमा रहेको उल्लेख गर्दै उनले केन्द्रको स्वच्छता र गरिमा कायम राख्न आग्रह गरे। साथै, केन्द्रलाई जनताका आवश्यकताप्रति उत्तरदायी, नियमित रूपमा सञ्चालन हुने र सबैका लागि सहज पहुँचयोग्य संस्थाका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए। मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी सोचअनुरूप यस्ता पहलहरू अघि बढाइएको बताउँदै उनले विकासका लाभ समाजका प्रत्येक वर्गसम्म गाउँस्तरमै पुर्‍याउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।

यसैगरी, जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पाले गाउँस्तरमा सहज र जनउत्तरदायी प्रशासनको आवश्यकतामाथि प्रकाश पारे। स्थानीय सुशासन सुदृढ बनाउन तथा सार्वजनिक सेवाहरू प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन पञ्चायती राज संस्थाहरूको भूमिका अहम हुने उनले बताए। नवनिर्मित केन्द्र निर्माण सम्पन्न भएकोमा याङ्थाङवासीलाई बधाई दिँदै जिल्लापालले स्थानीय समुदाय र सम्बन्धित विभागहरूसँग घनिष्ठ समन्वय कायम गरी जनताका आकाङ्क्षाप्रति संवेदनशील भएर काम गर्न पञ्चायत प्रतिनिधिहरूलाई आह्वान गरे।

About Author

Advertisement