इजरायलका लागि अपरिहार्य शक्ति बनिसक्यो भारत

IMG_c00bc558-a494-451f-b2c1-698491c2af66

२६/११ मुम्बई हमलाको १८औँ वर्षगाँठमा इजरायली विज्ञको विश्लेषण
​
तेल अवीव। सन् २००८ नोभेम्बर २६ मा भारतको आर्थिक राजधानी मुम्बईमा भएको भयानक आतङ्कवादी हमलाको १८ वर्ष पूरा भएको छ। पाकिस्तानी आतङ्कवादीहरूले मुम्बईका विभिन्न स्थानसँगै यहुदी केन्द्र (नरिमन हाउस) लाई समेत निशाना बनाएर गरेको उक्त आक्रमणले भौगोलिक रूपमा टाढा रहेका भारत र इजरायललाई एउटै प्रकृतिको आतङ्कवादको पीडा महसुस गराएको थियो।
​यसै सन्दर्भमा इजरायली भू–राजनीतिक विज्ञ डा. लरेन ड्यागन एमोसले भारत अब इजरायलका लागि केवल एक मित्र राष्ट्र मात्र नभई भविष्यका लागि एक ‘अपरिहार्य रणनीतिक शक्ति’ बनिसकेको विश्लेषण गरेकी छिन्। इजरायली पत्रिका ‘द जेरुसेलम पोस्ट’ मा प्रकाशित एक लेखमार्फत उनले भारत–इजरायल सम्बन्धको बदलिँदो आयामबारे प्रकाश पारेकी हुन्।
​आतङ्कवादको साझा पीडा र बदलिँदो रणनीति
डा. एमोसका अनुसार सन् २००८ को मुम्बई हमला होस् वा सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमण (जसमा १२ सयभन्दा बढीको ज्यान गएको थियो), दुवै देशले समान प्रकृतिको आतङ्कवादको सामना गरिरहेका छन्। मुम्बई हमलाले भारतको गुप्तचर संयन्त्र, तटीय सुरक्षा र सङ्कटकालीन प्रतिकार्यमा रहेका कमजोरीहरू उजागर गरेको थियो, जसलाई सुधार्न भारतले ‘राष्ट्रिय अनुसन्धान एजेन्सी’ (एनआईए) गठन गर्‍यो। अक्टोबर ७ को आक्रमणले इजरायललाई पनि यस्तै सुरक्षा कमजोरीबारे सचेत गराएको उनको भनाइ छ।
​आतङ्कवादविरुद्ध भारतले अपनाएको कठोर नीतिबाट इजरायलले धेरै कुरा सिक्न सक्ने उनले उल्लेख गरेकी छिन्। उदाहरणका लागि, पहलगाम आतङ्कवादी हमलापछि भारतले पाकिस्तानी आतङ्कवादीविरुद्ध चलाएको ‘अपरेसन सिन्दूर’ ले सीमापार आतङ्कवादको जवाफ अब प्रत्यक्ष सैन्य कारबाहीबाटै दिइने स्पष्ट सन्देश दिएको छ।
​पाकिस्तानसँगै चीनको चुनौती
इजरायली दृष्टिकोणबाट हेर्दा भारत–पाकिस्तान द्वन्द्वमा प्रत्यक्ष संलग्न नभए पनि चीनको भूमिका महत्त्वपूर्ण रहेको डा. एमोसले औँल्याएकी छिन्। स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदन उद्धृत गर्दै उनले सन् २०२१ देखि २०२५ सम्म पाकिस्तानले आयात गरेका परम्परागत हतियारमा चीनको हिस्सा ८० प्रतिशत रहेको उल्लेख गरेकी छिन्। त्यसैले भारतका लागि अब पाकिस्तान मात्र नभई चीन पनि प्रमुख सुरक्षा चुनौती बनेको छ।
​बजार मात्र होइन, भरपर्दो रक्षा साझेदार
विगतमा इजरायलले भारतलाई हतियार बिक्री गर्ने एक ठुलो बजारका रूपमा मात्र हेर्ने गरेकोमा अहिले त्यो दृष्टिकोण पूर्ण रूपमा बदलिएको छ। भारत ‘आत्मनिर्भर भारत’ अभियानअन्तर्गत घरेलु रक्षा उत्पादन क्षमता विकास गर्दै विदेशी निर्भरता घटाउन लागिपरेको छ।
​अर्कोतर्फ, निरन्तरको युद्धका कारण हतियार उत्पादनमा दबाब झेलिरहेको इजरायलले अहिले ‘मेक इन इन्डिया’ अन्तर्गत भारतसँग मिलेर ड्रोन, मिसाइल प्रणाली र आधुनिक निगरानी उपकरणहरू संयुक्त रूपमा निर्माण गरिरहेको छ। पश्चिमी देशहरूले इजरायलमाथि राजनीतिक दबाब र हतियार आपूर्तिमा प्रतिबन्ध लगाइरहेका बेला भारत एक स्थिर, व्यावहारिक र भरपर्दो साझेदारका रूपमा उभिएको डा. एमोसको निष्कर्ष छ।

About Author

Advertisement