याङगाङमा पनि पालन गरियो २११औं भानु जयन्ती

IMG-20250713-WA0130

नाम्ची: भालेढुङ्गा साहित्यिक मञ्च, याङगाङ, नाम्ची जिल्लाको आयोजनामा २११औं भानु जयन्ती समारोह स्थानीय याङगाङ पाठशाला प्रेक्षगृहमा सम्पन्न गरियो। कार्यक्रमको आरम्भ हालै दिवंगत भएका सिक्किमका एक साहित्यिक शिरोमणि, पद्मश्री सानु लामाप्रति श्रद्धाञ्जली अर्पण तथा शोक प्रस्तावबाट गरिएको थियो। यद्यपि शोकबाट सुरु भएको समारोह साहित्य, भाषा र चेतनाको उत्सवमा रूपान्तरित भयो।
समारोहमा प्रमुख अतिथि साहित्य अकादमी पुरस्कार प्राप्त युवा बराल अनि विशेष अतिथि एवं सभाध्यक्षको रुपमा सिक्किम विधानसभाकी उपाध्यक्ष श्रीमती राजकुमारी थापाको उपस्थिति रहेको थियो। समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवन र कृतित्वमाथि विशेष प्रकाश पारिएको थियो। विशेषगरी नेपाली भाषामा अनूदित रामायणले नेपाली जनमानसमा भाषा र संस्कृतिप्रतिको चेतनाको जागरण गराएको कुरा स्मरण गरियो। कार्यक्रमको प्रमुख आकर्षणहरूमा “नशा मुक्त सिक्किम” अभियानअन्तर्गत आयोजित कवितात्मक प्रतियोगिता, खुल्ला कविता वाचन, रामायण पाठ प्रतियोगिता, तथा भाषा-साहित्यको संरक्षणसम्बन्धी वक्तव्य र छलफल रहेका थिए।
विद्यालयका छात्रछात्राहरूद्वारा प्रस्तुत गरिएको नाटक ‘पढ्न पाउनु हाम्रो अधिकार’ ले बालबालिकाको आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्दै कार्यक्रममा भावनात्मक प्रभाव छाड्यो। कार्यक्रमका मुख्य वक्ता हेमलाल तिवारी ‘लिजिङ’ले भानुभक्तको साहित्यिक योगदान र वर्तमान समयमा नेपाली भाषाको अवस्था र सम्भावनाबारे गहन विचार प्रस्तुत गरे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राजनीतिक सल्लाहकार विकाश बस्नेत, खाद्य प्रशोधन विभागका अध्यक्ष सीएल गुरुङ साथै अन्यको उपस्थिति रहेको थियो।

About Author

Advertisement