देन्ताममा पालन गरियो २११औं भानु जयन्ती

IMG-20250713-WA0125

गेजिङ: मिरमिरे साहित्य मञ्च देन्ताम र महकूमा कार्यलयको संयुक्त आयोजनामा देन्ताम सरकारी उच्चतर माध्यामिक विद्यालयमा २११औं भानु जयन्ती समारोह आयोजना गरियो। बिहान खण्ड विकास कार्यालय परिसरमा अवस्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा क्षेत्र विधायक सुदेश कुमार सुब्बा अनि भाषा–साहित्य प्रेमीहरूको टोलीले माल्यार्पण गरेपछि समारोहको प्रारम्भ गरिएको थियो।
भव्य रुपमा तयारी गरिएको कार्यक्रम वरिष्ठ साहित्यकार पद्मश्री स्व. सानु लामाको आकस्मिक निधनको कारण शोकपूर्ण वातावरणमा साधारण रूपमा सम्पन्न गर्नुपरेको आयोजक समितिले जनाएको छ। कार्यक्रमको प्रारम्भ अघि स्व. सानु लामाको आत्माको शान्तिको कामना गर्दै दुई मिनट मौनधारण गरिएको थियो। त्यसपछि वहाँद्वारा लिखित गीत “जहाँ बग्छ टिस्टा रङ्गीत…” बजाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रमको औपचारिक सुरुवात प्रमुख अतिथि क्षेत्र विधायक सुदेश कुमार सुब्बाद्वारा दीप प्रज्वलन गरी गरियो।
सम्पूर्ण सांस्कृतिक कार्यक्रमहरू रद्द गरिएको भए तापनि, पहिल्यै सम्पन्न विभिन्न साहित्यिक प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै, मिरमिरे साहित्य मञ्चद्वारा क्षेत्रका केही भाषा तथा साहित्यसेवीहरूलाई सम्मान पनि जनाइयो।
समारोहमा आफ्नो सम्बोधनको क्रममा विधायक सुब्बाले आयोजक पक्षलाई धन्यवाद दिँदै नेपाली भाषा र संस्कृतिको संरक्षणमा सम्पूर्ण नेपाली भाषी समाज एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्यए। उनले युवा पुस्तामाझ पाश्चात्य संस्कृतिप्रतिको बढ्दो आकर्षणले मातृभाषा संकटमा पर्नसक्ने गम्भीर चिन्ता व्यक्त गरे।
कार्यक्रममा साहित्यकार डिएन प्रधान, सिक्किम सरकारका सल्लाहकारहरू बिरेन्द्र ताम्लिङ, पुर्णहाङ सुब्बा, अशोक प्रधान, सेरमान सुब्बा, लक्ष्मण गुरुङ, एबी थापा, अध्यक्ष जंगबहादुर ताम्लिङ, बीएम सुब्बा, दीपक गुरुङ, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसुधन शर्मा, विशेष कर्तव्य अधिकृत डिगम गुरुङ, शिक्षा सल्लाहकार जिआर खुलाल, अतिरिक्त जिल्ला अधिकारी सुरत कुमार गुरुङ, महकुमा अधिकारी एनके कार्की, खण्ड विकास अधिकारी ओङ्दी भोटिया, विभिन्न विभागीय अधिकारी, क्षेत्र सभापति दावा नर्बु शेर्पा, शिक्षक–शिक्षिका, जनप्रतिनिधि, अवकाशप्राप्त कर्मचारी, सामाजिक अभियन्ता तथा स्थानीय जनता लगायतका विशिष्ट साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

About Author

Advertisement