‘म्याराथन म्यान’ अमर सुब्बाद्वारा १३२ किलोमिटर लामो ‘स्वास्थ्य चेतना तथा कृतज्ञता दौड’ पूरा

FB_IMG_1784478742704

गेजिङ: सिक्किमका प्रख्यात धावक एवं ‘म्याराथन म्यान’ का रूपमा परिचित अमर सुब्बाले १३२ किलोमिटर लामो ‘स्वास्थ्य चेतना तथा कृतज्ञता दौड’ सफलतापूर्वक पूरा गरेका छन्। ‘अमर सुब्बा म्याराथन एकेडेमी'(एएमएएस) का उनका विद्यार्थी प्रितम राईसहित सुब्बाले पश्चिम सिक्किमको दरापदेखि सिलगुढीको दार्जिलिङ मोडेसम्मको दुरी तय गरेका हुन्।
​सिक्किम सरकारले स्वास्थ्य, खेलकुद, पर्यटन र सङ्गीतलगायतका क्षेत्रमा पुर्‍याएको निरन्तर सहयोगप्रति मुख्यमन्त्रीलाई धन्यवाद ज्ञापन गर्न र जनस्वास्थ्यबारे सचेतना जगाउन यो दौड आयोजना गरिएको हो।
​गत जुलाई १७ गते बिहान ४ बजे दरापबाट सुरु भएको दौडको पहिलो चरणमा ७० किलोमिटर दुरी पार गर्दै टोली दार्जिलिङ पुगेको थियो, जहाँ उनीहरूलाई ‘विकरन फाउन्डेसन’ र ‘अफट्र्याक मुभमेन्ट’ ले भव्य स्वागत गरेका थिए। भोलिपल्ट अर्थात् जुलाई १८ गते बिहान ७ बजे दार्जिलिङको चौरास्ताबाट दोस्रो चरणको दौड सुरु भएको थियो। सो क्रममा पश्चिम बङ्गाल पुलिसका सहायक सब-इन्स्पेक्टर एवं सुब्बाका अर्का विद्यार्थी जतिन क्षेत्री पनि दौडमा थपिएका थिए।
​तीन जनाको टोलीले बाँकी ६२ किलोमिटरको दुरी तय गर्दै सोही दिन दिउँसो साढे ४ बजे सिलगुढीको दार्जिलिङ मोडे पुगेर दौड समापन गरेको थियो। दौडका क्रममा ‘खरसाङ एथलेटिक्स क्लब’ र ‘तिनधरिया रनर्स एसोसिएसन’ लगायतका विभिन्न खेलकुद संस्थाहरूले धावकहरूलाई मार्गमा स्वागत गर्दै उत्साह बढाएका थिए। यस अभियानले तन्दुरुस्ती, सामुदायिक सहभागिता र खेलकुदका माध्यमबाट सकारात्मक सामाजिक सन्देश प्रवाह गर्न भूमिका खेलेको बताइएको छ।

About Author

Advertisement