पाक्योङ: आगामी ८०औँ स्वतन्त्रता दिवस २०२६ तथा खुल्ला नकआउट फुटबल प्रतियोगिताको भव्य तयारीका लागि आइतबार पाक्योङस्थित सामुदायिक भवनमा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ।
बैठकमा कृषि, बागवानी, पशुपालन तथा मत्स्य विकास मन्त्री एवं छुजाचेनका विधायक पुरनकुमार गुरुङ, शिक्षा तथा खेलकुद मन्त्री एवं नामचेबुङका विधायक राजु बस्नेत, ग्याथाङ-माछोङकी विधायक पामिन लेप्चा, जिल्ला अध्यक्ष लादेन ल्हामु भोटिया र पाक्योङकी जिल्लापाल (डीसी) परी बिश्नोईको विशेष उपस्थिति थियो। स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने फुटबल प्रतियोगितालाई व्यवस्थित बनाउन फुटबल आयोजक समिति र पाक्योङ जिल्लाअन्तर्गतका विभिन्न सरकारी निकायहरूबीच आपसी समन्वय बढाउने उद्देश्यले बैठक डाकिएको हो।
विद्यार्थीको पढाइमा असर पर्न नदिन निर्देशन
बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री राजु बस्नेतले सबै विभाग र समितिहरूबीच एकता र सहकार्य हुनुपर्नेमा जोड दिए। शिक्षा विभागको निर्देशिका उल्लेख गर्दै उनले स्वतन्त्रता दिवसका कार्यक्रमका लागि विद्यालयका विद्यार्थीहरूले गर्ने तयारी वा अभ्यास बढीमा सात दिन मात्र हुनुपर्ने स्पष्ट पारे। विद्यार्थीहरूको शैक्षिक गतिविधि र पढाइमा बाधा नपुगोस् भन्नका लागि सांस्कृतिक कार्यक्रमहरू सन्तुलित र सीमित रूपमा योजना गर्न उनले सुझाव दिए।
त्यस्तै, विधायक पामिन लेप्चाले विद्यार्थीको पढाइलाई असर नगर्ने गरी यहाँका तीनवटै मुख्य जातीय समुदायको सांस्कृतिक पहिचान झल्किने कार्यक्रम प्रस्तुत गर्नुपर्नेमा जोड दिइन्। कृषि मन्त्री पुरनकुमार गुरुङले जिल्ला स्तरीय कार्यक्रम भएकाले यसलाई भव्य रूपमा मनाउन सबै सरोकारवाला सक्रिय हुनुपर्ने भन्दै पुरस्कारको प्रायोजन र व्यवस्थापनबारे छलफल गरे।
यू-१४ प्रतियोगिता पनि हुने, खेल साउन १७ देखि
पाक्योङकी जिल्लापाल परी बिश्नोईले सुरक्षा, ट्राफिक व्यवस्थापन, जनस्वास्थ्य, खानेपानी, विद्युत, सरसफाइ र यातायात जस्ता प्राविधिक एवं बन्दोबस्तीका विषयमा विभागीय जिम्मेवारी बाँडफाँड भइसकेको जानकारी गराइन्।
बैठकले यस वर्षको उत्सवअन्तर्गत छात्र र छात्रा दुवै समूहका लागि १४ वर्ष मुनि (अन्डर-१४) को फुटबल प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ।
८०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुन लागेको खुल्ला नकआउट फुटबल प्रतियोगिता आगामी अगस्ट १ (साउन १७ गते) देखि सुरु हुने बैठकमा जानकारी दिइयो।











