भद्रपुर: नेपाल कम्युनिस्ट पार्टी एमाले मोरङले ‘मिसन पार्टी जागरण’ अभियानलाई प्रभावकारी बनाउन जिल्लाका सबै १७ वटा स्थानीय तहमा नेताहरूको जिम्मेवारी तोकेको छ।
पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनतासँग प्रत्यक्ष संवाद बढाउने तथा पार्टीका नीति, कार्यक्रम र सरकारका उपलब्धिहरूलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको एमालेले जनाएको छ।
सार्वजनिक कार्यविभाजनअनुसार परशुराम बस्नेतलाई विराटनगर महानगरपालिका, दिलीप अग्रवाललाई रंगेली नगरपालिका, उद्धव पोखरेललाई सुनबर्षी नगरपालिका र ऋषिकेश पोखरेललाई उर्लाबारी नगरपालिकाको जिम्मेवारी दिइएको छ।
त्यसैगरी गुरु बराललाई पथरीशनिश्चरे नगरपालिका, घनश्याम खतिवडालाई लेटाङ नगरपालिका, इरान राईलाई बेलबारी नगरपालिका, लालबाबु पण्डितलाई रतुवामाई नगरपालिका तथा नरेश पोखरेललाई सुन्दरहरैँचा नगरपालिकाको जिम्मेवारी दिइएको छ।
गाउँपालिकातर्फ भुराज राईलाई धनपालथान, शिल्पा निरौला कार्कीलाई कटहरी, रामलाल शाहलाई जहदा, जीवन घिमिरेलाई ग्रामथान, राजकुमारी इङनामलाई कानेपोखरी, बिनोद ढकाललाई बुढीगंगा, डिल्ली अधिकारीलाई मिक्लाजुङ तथा राजकुमार ओझालाई केराबारी गाउँपालिकाको जिम्मेवारी तोकिएको छ।
एमाले मोरङका अनुसार अभियानका क्रममा सम्बन्धित स्थानीय तहमा पार्टीका संगठनात्मक गतिविधि विस्तार, सदस्यता नवीकरण तथा विस्तार, जनसम्पर्क सुदृढीकरण र पार्टीको राजनीतिक सन्देश घरदैलो तहसम्म पुर्याउने कार्यक्रम सञ्चालन गरिनेछ। अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै पार्टीको जनआधार विस्तारमा केन्द्रित गरिने एमालेले जनाएको छ।










