फ्लोरिडा (अमेरिका): मेजर लीग सकर (एमएलएस)-मा इण्टर मियामीले असाधारण पुनरागमन गर्दै मण्ट्रियललाई ७-१-ले पराजित गऱ्यो। टोलीको यस जीतको नायक लियोनल मेस्सी रहे, जसले म्याचमा ४ गोल गरे। यस जीतको साथ इण्टर मियामीले लगातार ५ वटा म्याचदेखि जारी जीतको खड़ेरीलाई पनि समाप्त गऱ्यो। फिफा विश्व कपको समाप्तिपछि लीग पुनः शुरु गरिए पनि इण्टर मियामीको प्रदर्शन निराशाजनक रहेको थियो। टोलीले गत ५-मा ४ वटा म्याच हारेको थियो। शनिवार राति चाहिँ फ्लोरिडामा वर्तमान एमएलएस च्याम्पियन टोलीले शुरुदेखि नै म्याचलाई नियन्त्रणमा राख्यो। म्याचमा ५५ प्रतिशत बल पोजेशनको साथ खेल्ने इण्टर मियामीको निम्ति स्टार मीडफिल्डर कासेमिरोले २०औं मिनटमा पहिलो गोल गरे। विश्व कपपछि क्लबमा सामेल हुने कासेमिरोको यो इण्टर मियामीको निम्ति पहिलो गोल पनि हो। त्यसपछि फेबियन हर्बर्सले ३७औं मिनटमा गोल गरी मण्ट्रियललाई १-१-को बराबरीमा पुऱ्याए। म्याच बराबरीमा पुगेपछि मैदानमा मेस्सी म्याजिक शुरु भयो। अर्जेण्टिनाई फरवर्डले एकपछि अर्को गर्दै ४ गोलको साथ मण्ट्रियलको चुनौतीलाई स्वाहा पारे। मेस्सीले ४०औं, ५२औं, ८३औं र इञ्ज्युरी टाइमको छैटौं मिनटमा गोल गरे। यसबाहेक अन्य २ वटा गोल लुईस सुआरेज (८०औं मिनट) र अलेक्जाण्डर शा (८९औं मिनट)-ले गरे। एमएलएस-को जारी सीजनमा मेस्सी सर्वाधिक गोल गर्ने खेलाड़ी हुन्। उनले १८ गोल गरिसकेका छन्। यस सूचीमा डलासका पेटार मुसा १६ गोलको साथ दोस्रो स्थानमा छन्। एकतर्फी जीतको साथ इण्टर मियामी एमएलएस ईष्टर्न कन्फ्रेन्स अंक तालिकाको दोस्रो स्थानमा कायम रह्यो। टोलीले २२ वटा म्याच खेलेर १२ वटा जितेको छ जबकि ६ वटा ड्र रहेको छ। यसरी चारवटा म्याचमा हारको सामना गर्नु परेको छ। नेशविल ५२ अंकको साथ शीर्ष स्थानमा रहेको छ।





