भागोप्रमो २८ र २९ नम्बर समष्टिलाई लिएर सांगठनिक सभा सम्पन्न

2c97c37d-986f-4865-8dd4-d729d642b063

अब भागोप्रमो पार्टी कसैको भरमा होइन तर आफ्नै खुट्टामा उँभिनेछ‌: अनित थापा

खरसाङ: अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी कसैको भरमा होइन तर आफ्नै खुट्टामा उँभिनेछ‌। बरु आउनेले हामीलाई सोधेर आउनेछ। भविष्यमा हुने चुनावमा हामी जित्नेछौं र अवश्य पनि फेरि सत्तामा आउनेछ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं पूर्व जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले आईतवार खरसाङमा आयोजित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको २८ नम्बर खरसाङ चिम्नी देउराली समष्टि र २९ नम्बर खरसाङ गिध्द पहाड समष्टिलाई लिएर सांगठनिक सभामा प्रमुख अतिथिको रुपमा बोल्दै उक्त कुरा बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी अहिले पनि बलियो स्थितिमा छ। यसको राप अझैं धेरै छ।‌ अब म आफै बसेर पार्टी धरातल बलियो बनाउन काम गर्नेछु र पार्टीको पुनर्गठन गरेर लानेछु।

चुनावपछि धेरैले पार्टी छोडेर गए तर धेरैले फेरि फर्केर आउने इच्छा गर्दै फोन गरिरहेका छन्। केही दिनमा सबैले देख्नेछन्।’ अनित थापाले खरसाङ बजार विषयमा व्याख्यात्मक रुपमा बोल्दै भने, अहिले खरसाङ बजार एकदम सफा छ, मैला‌ कतै छैन, सबैले वेतन पाईरहेका छन्। हामी हुँदा सानो कुरामा पनि गनगन हुने तर अहिले सबैले अनुभव गरिरहेका छन्‌। जनता कोही पनि खुशी छैन। जनताले बुझिसकेका छन्। अझ खरसाङमा गोर्खाहरुले राज गर्न सकेको छैन अहिले। हामीले चाहेको गोर्खाले राज गर्नुपर्छ। मान्छेहरु हालमा खुशी छैनन्। भन्न मात्र सकेका छैनन्।’ थापाले अघि भने, ‘हामीले हारेर सत्ता छोडेको होइन तर गोर्खाल्याण्डको लागि सत्ता छोडिदिएको हो। अहिले पहाडमा कसैको सत्ता छैन।’
उनले अझ भने, ‘सांसदले पनि आफ्नो काम गरिदिएको नै हो। तर माग्नेहरुले ठीकसितले माग्नु नसकेको मात्र हो।’
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको २८ नम्बर खरसाङ चिम्नी देउराली समष्टि र २९ नम्बर खरसाङ गिध्द पहाड समष्टिलाई लिएर सांगठनिक सभाबखरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टि सभापति एवं पूर्व सभासद श्याम शेर्पाको अध्यक्षता सम्पन्न भएको छ। सभामा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा उपस्थित रहेका थिए। सभालाई २९ नम्बर खरसाङ गिध्द पहाड समष्टिको सचिव एवं खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा स्वागत सम्भाषण खरसाङ टाउन कमिटीका अध्यक्ष बीरबल पाख्रिनले राखेका थिए। सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा, खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद प्रमाण रसाइली, २९ नम्बर खरसाङ गिध्द पहाड समष्टिको सभापति प्रेमेन्द्र गुरुङ, खरसाङ टाउन कमिटी नारी शक्तिकी सभापति देवकी सुब्बा र सभाध्यक्ष पूर्व सभासद श्याम शेर्पाले वक्तव्य राखेका थिए। यसै सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन २८ नम्बर खरसाङ चिमनी देवराली समष्टि र २९ नम्बर खरसाङ गिध्द पहाड समष्टिको जोनल कमिटीलाई केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको उपस्थितिमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र महासचिव जनक छेत्रीको तर्फबाट अनुमोदन गरिएको छ।

सभामा सबै पदाधिकारीहरुलाई पार्टी अध्यक्ष अनित थापाको बाहुलीबाट खदा लगाएर जिम्मेवारी सुम्पिएका छन्। यसै सभामा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको नारी शक्ति संयोजकमा सुष्मा मुखिया र २९ नम्बर समष्टिको लागि शित्तल रसाईलीलाई संयोजक नियुक्त गरिएको छ भने पार्टी अध्यक्ष अनित थापाको बाहुलीबाट खदार्पणसहित जिम्मेवारी प्रदान गरिएको छ। सभामा घैयाबारी ग्राम पञ्चायतक निर्वाचितहरु र कतिपय निर्वाचित प्रतिनिधिहरु जसले जस्तै परिस्थितिमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई नछोडी अडिग बसेको भन्दै सम्मान जनाइएको छ। सभामा २८ नम्बर र २९ नम्बर समष्टिको प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस सांगठनिक सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २८ नम्बर खरसाङ चिम्नी देउराली समष्टिको सभापति एवं पूर्व सभासद श्याम शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement