मेजर लीग सकरमा इण्टर मियामीबाट खेल्नेछन् लियोनल मेस्सी

IMG-20230608-WA0160.jpg

८ जूनः अर्जेण्टिनाका दिग्गज फूटबल खेलाड़ी लियोनल मेस्सीले गत केही समयदेखि जारी अड़कलबाजीमा विराम लगाउँदै यूरोप र एशिया नभएर अमेरिकामा मेजर लीग सकर (एमएलएस) खेल्न जाने खुलासा गरे। उनलाई एमएलएस-मा इण्टर मियामी टीमको जर्सीमा खेलिरहेको देखिनेछ। उनी फ्री एजेण्टको रूपमा टीममा सामेल भएका छन्। यसअघि मेस्सी आफ्नो पुरानो क्लब बार्सिलोनामा फर्किने खबर प्रकाशमा आएको थियो। यसबाहेक धेरैले उनी सऊदी अरबमा खेल्न जाने दावी पनि गरेका थिए। प्रशंसकहरू उनी स्पेनिश क्लबमा आउने आशामा रहेका थिए तर अन्तमा मेस्सीले बार्सिलोना नफर्किने फसेला गरे। यसरी नै मेस्सीले क्रिस्टियानो रोनाल्डो झैं सऊदी अरब लीगमा खेल्ने खबर पनि फैलिएको थियो।
यी समस्त अड़कलबाजीबीच मेस्सीले अमेरिकी लीगमा खेल्ने फसेला गरे। मेस्सीले बताएअनुसार, उनले पैसाको निम्ति चाहिँ यस्तो फसेला लिएका होइनन्। मेस्सी अघि ईंग्ल्याण्डका डेविड बेकहम र स्वीडेनका ज्लाटन इब्राहिमोविच जस्ता दिग्गजहरूले पनि अमेरिकी लीगमा हिस्सा लिएका थिए। अर्जेण्टिनाई दिग्गजले भने, विश्व कप जितेपछि अनि बार्सिलोनामा फर्किन नसकेपछि अब म अमेरिकी लीगमा खेलेर फूटबललाई नयाँ तरिकाले जिउन चाहन्छु। इण्टर मियामीमा सामेल हुन अघि मेस्सीले उनी बार्सिलोनाको प्रशंसक रहेको अनि आफ्नो जीवन त्यहीँ बिताउने बयान दिएका थिए। उनी बार्सिलोना आउन चाहन्थे तर यो सोचे जस्तो सजिलो पनि थिएन। वास्तवमा उनलाई क्लबको तर्फबाट कुनै प्रस्ताव आएन। मेस्सी क्लबमा सामेल भएको भए बार्सिलोना अन्य खेलाड़ीहरूका वेतन घटाउन वाध्य हुने थियो। यसको साथमा केही खेलाड़ीहरूलाई क्लबबाट अलग पनि गरिने थियो। नयाँ क्लबमा वेतनबारे प्रश्न गरिँदा मेस्सीले भने, म पैसाको लागि मियामीमा सामेल भएको होइन। पैसाकै कुरा गर्नु हो भने म सऊदी अरबमा खेल्ने थिएँ। यूरोपमा पनि पैसा छ तर धेरैवटा टीमबाट प्रस्ताव पनि आएको थियो तर म यूरोपमा बार्सिलोना बाहेक अन्य क्लबको निम्ति खेल्न चाहदिनँ।
उल्लेखनी छ, गत ६ महिनामा तीनजना बेलोन डीओर विजेताले यूरोप छोड़िसकेका छन्। यसको शुरुवात पोर्तुगलका दिग्गज खेलाड़ी रोनाल्डोले गरेका थिए। उनी म्यानचेष्टर युनाइटेड छोड़ेर अल नासरमा सामेल भएका थिए। यस क्लबमा सामेल भएर पोर्तुगलका स्टार फूटबलर सबैभन्दा अधिक वेतन पाउने खेलाड़ी पनि बनेका थिए। रोनाल्डोको पदचिन्ह पहिल्याउँदै करीम बेञ्जेमा पनि रियल म्याड्रिडबाट अलग भएर सऊदी अरबको क्लब अल इत्तिहादमा सामेल भए। अब मेस्सीलाई पनि यूरोप बाहिर मेजर लीग सकरमा खेलिरहेको देखिनेछ। यी दिग्गजहरू गएपछि यूरोपेली फूटबलको लोकप्रियतामा कमी आउने तय छ।
मेस्सीले साल २००४-मा यूरोपेली फूटबलमा आफ्नो क्लब करियर शुरु गरेका थिए। त्यसपछि उनले ८५३ वटा म्याच खेलेर ७०४ गोल गर्नको साथै ३०० वटा एसिस्ट गरे। यस अवधि उनले १२ पल्ट लीग खिताब र चारपल्ट च्याम्पियन्स लीग जिते। यसको साथमा उनले अन्य २२ वटा ट्रफी पनि जिते। मेस्सीको नाममा जम्मा ३८ वटा ट्रफी रहेको छ।

About Author

Advertisement