शिलांग: सिरो-मालङ्करा क्याथोलिक चर्चका मेजर आर्चबिशप-क्याथोलिकोस तथा त्रिवेन्द्रमका मेजर आर्चबिशप हिज बिटिच्युड मोरान मोर बासेलियोस कार्डिनल क्लीभिसको एपिस्कोपल रजत जयन्ती समारोहमा मेघालयका मुख्यमन्त्री कनरार्ड के साङ्मा सहभागी भएका छन्।
समारोहमा सहभागी भई मुख्यमन्त्री साङ्माले कार्डिनल क्लीभिसलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मुख्यमन्त्री साङ्माले कार्डिनल क्लीभिसले विभिन्न पदमा रहेर चर्चको सेवा गर्नुका साथै विश्वभर शान्ति र भ्रातृत्वको दूतका रूपमा कार्य गरेको बताएका छन्।
मुख्यमन्त्री साङ्माका अनुसार उनले दशकौँदेखि ईसा मसीहको सन्देशलाई फैलाउँदै समाजका लागि एक उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। यस ऐतिहासिक अवसरमा मुख्यमन्त्रीले उनलाई बधाई ज्ञापन गर्दै भगवान् र समाजको सेवा निरन्तर जारी राख्नका लागि ईश्वरको आशीर्वाद सदैव बनिरहोस् भनी कामना गरेका छन्।









