मुम्बई इण्डियन्सविरुद्ध सीएसके-को १०३ रनले एकतर्फी जीत

IMG-20260424-WA0002

मुम्बई: स्टार ब्याटर सञ्जु सेमसन (अविजित १०१)-को शतकपछि स्पिनर अकील होसैनको विध्वंशी बलिंगको सहायताले आईपीएल २०२६-को ३३औं म्याचमा चेन्नई सुपर किंग्स (सीएसके)-ले मुम्बई इण्डियन्सलाई १०३ रनले पराजित गऱ्यो। मुम्बई इण्डियन्सको यो टुर्नामेण्टको इतिहासमा रनको हिसाबले सबैभन्दा ठूलो हार हो। वानखेड़े स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै सीएसके-ले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनायो। टीमका अन्य सबै ब्याटर भटाभट आउट भए पनि विकेटकीपर-ब्याटर सेमसनले शतकीय ईनिंग्स खेलेर टीमलाई सम्हाले। उनले ५४ बलमा अविजित १०१ रन बनाए, जसमा १० वटा चौका र ६ वटा छक्का सामेल छ। यसबाहेक कप्तान रुतुराज गायकवाड़ले २२, डेवाल्ड ब्रेविसले २१, कार्तिक शर्माले १८ र जेमी ओवरटनले १५ रनको योगदान दिए। मुम्बई इण्डियन्सका बलरहरूमा एएम गजनफर र अश्विनी कुमारले २-२ विकेट लिए। त्यसपछि २०८ रनको लक्ष्यलाई अघि राखेर खेल्दै मुम्बई इण्डियन्स १९ ओभरमा केवल १०४ रन बनाएर अलआउट भयो। तिलक वर्माले ३७ र सूर्यकुमार यादवले ३५ रन बनाए। यी दुईजनाले ५-५ वटा चौका लगाए। मुम्बईको ईनिंग्समा ३ जनाले त खाता नै खोलेनन्, जसमा दानिश मालेवर, नमन धीर र शेरफेन रदरफोर्ड सामेल छन्। क्विण्टन डी कक ७, कप्तान हार्दिक पाण्ड्या १ र शार्दुल ठाकुर ६ रन बनाएर आउट भए। सीएसके-का बलरहरूमा स्पिनर अकील होसैनले ४ ओभरमा १७ रन खर्च गरी ४ विकेट लिए।

About Author

Advertisement