गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रको ७४औं गणतन्त्र दिवसको शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक अभिवादन व्यक्त गरेका छन्। भारतका अन्य भागहरूमा रहेका सह- नागरिकहरूमा पनि शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो सन्देशमा भनेका छन्, बहादुर सिपाहीहरू र सशस्त्र सेनाका सदस्यहरूलाई स्मरण गरौं, जसले आफ्नो कर्तव्यप्रति उच्च प्रतिबद्धता र बलिदानका साथ अत्यन्त कठिन परिस्थितिमा हाम्रो सीमाको रक्षा गर्दै हाम्रो सुरक्षा सुनिश्चित गर्ने गर्छन्। भारतलाई सार्वभौम, समाजवादी, धर्मनिरपेक्ष र लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने भारतीय संविधानका निर्माताहरूलाई पनि याद गर्दै आभार व्यक्त गरौं। हाम्रो संविधानले आफ्ना नागरिकहरूलाई न्याय, समानता र
स्वतन्त्रताको आश्वासन दिन्छ र भाइचारालाई बढावा दिने प्रयास गर्दछ। आज हामी हाम्रो मातृभूमिप्रति वाचा गरौं कि हामी हाम्रो सम्पदा र हाम्रो राष्ट्रिय लोकाचारलाई समृद्ध र संरक्षण गर्न सक्दो प्रयास गर्नेछौं। भारत सरकारको निर्देशमा संयुक्त राष्ट्र संघले वर्ष २०२३- लाई ‘अन्तर्राष्ट्रिय कोदो वर्ष को रूपमा घोषणा गरेको छ। ‘अन्तर्राष्ट्रिय कोदो वर्ष ले विश्वव्यापी उत्पादन बढाउने, कुशल प्रशोधन र उपभोग सुनिश्चित गर्ने, फसल रोटेशनको राम्रो उपयोगलाई प्रवर्द्धन गर्ने र खाद्यान्न टोकरीको प्रमुख घटकको रूपमा कोदोलाई प्रवर्द्धन गर्नका लागि खाद्य प्रणालीहरूमा जडानलाई प्रोत्साहन गर्न अनुपम अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। भारत सरकारले यसलाई जनआन्दोलन बनाउने लक्ष्य राखेको छ, ताकि भारतीय कोदो, रेसिपीहरू र मूल्यवर्धित उत्पादनहरू विश्वव्यापी रूपमा स्वीकार गरियोस्। त्यसैको
अनुसरणमा, राज्य सरकारले यस पहलको निम्ति पूर्ण समर्थन प्रदान गर्नेछ अनि बिर्सिसकेको कोदोको खेतीलाई पुनर्जीवित राख्ने प्रयास गर्नेछ। मुख्यमन्त्रीले भनेका छन्, सिक्किममा प्रजातन्त्रले गहिरो जरा गाडिसकेको छ र मानिसहरू आफ्नो प्रजातान्त्रिक अधिकारीबारे पूर्णरूपमा जागरूक होस् भन्ने कुरा हामीले सुनिश्चित गरेका छौं। हामीले काँधमा काँध मिलाएर जिम्मेवारी निभाएका छौं अनि राष्ट्र निर्माणको प्रक्रियामा सक्रिय रूपमा भाग लिएका छौं। सिक्किम एक सीमावर्ती राज्य भएकोले गर्दा हामीले राष्ट्रको सुरक्षा अनि हाम्रो महान राष्ट्रको उन्नतिको लागि हरसम्भव योगदान दिएका छौं। राज्य सरकारले सिक्किमेली जनताको उत्थान गर्ने अनि शान्ति र प्रगतिमा योगदान पुन्याउन निरन्तर काम गरिरहेको छ। सिक्किम आज देशको एउटा सम्पत्ति हो जसले धेरै पुरस्कार र मान्यताहरू प्राप्त गरिसकेका छन्। हाम्रो सानो राज्य राष्ट्रिय मूलधारमा सामेल भएदेखि नै लोकतान्त्रिक र योजनागत विकासमा भएको प्रगतिले जनतालाई पर्याप्त सामाजिक र आर्थिक सुरक्षा प्रदान गरेको छ। सिक्किमको यात्रा इनामदायी र विकासका सबै प्रयासहरू सन्तोषजनक रहेका छन्। विगत केही वर्षदेखि सिक्किमले देशको सबैभन्दा प्रगतिशील राज्यको रूपमा अमेट छाप छोडेको छ। हामीले राज्यको सर्वाङ्गीण विकासका लागि ठोस प्रयास गरेका छौं। राज्य सरकारले विगत ३ वर्षमा राज्यमा स्वास्थ्य सेवा क्षेत्रको विकास गरी जनताको स्वास्थ्य र समृद्धिमा जोड दिएको छ। हाम्रो राज्यको दुर्गम क्षेत्रसम्मका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र अन्य सेवाहरू उपलब्ध गराएर स्वस्थ समाज निर्माण गर्नेतर्फ पनि सराहनीय प्रयासहरू भएका छन्। हामीले धेरै छोटो अवधिमा एसटीएनएम अस्पताल, सोच्यागाडमा नयाँ सुपर स्पेसलिटीहरू स्थापना गरेका छौं। उनले भनेका छन्, बेरोजगार महिलाहरूको निम्ति प्रोत्साहन
राशि सुरु गरेको छ। आमा योजनाअन्तर्गत राज्य सरकारले राज्यका सबै बेरोजगार आमाहरूलाई २० हजार रुपियाँ राशि वितरण गर्नेछ। सो राशिलाई उनीहरूले चिकित्सा सहायता, शैक्षिक आवश्यकताहरू पूरा गर्नमा सहयोग, घरको मरम्मत तथा आम्दानीको कुनै स्रोत स्थापना गर्नमा प्रयोग गर्न सक्नेछन्। यसबाहेक, ‘वात्सल्य’ योजनाअन्तर्गत आईएफभी अर्थात कृत्रिम प्रजननको लागि उपचार गराइरहेका दम्पतिहरूको निम्ति ३ लाख रुपियाँको आर्थिक सहयोग पनि सरकारले दिइरहेको छ। यस योजनाअन्तर्गत सिक्किमका सबै सरकारी कर्मचारी र गैर सरकारी कर्मचारीहरूले सो सुविधा पाउनेछन्। प्रजनन दरलाई बढाउन राज्य सरकारले अर्को पहल पनि सुरु गरेको छ, जसमा सरकारी महिला कर्मचारीहरूलाई दोस्रो नानी भएमा एक वेतन वृद्धि र तेस्रो नानी भएमा दुई वेतन वृद्धि दिइने छ। महिला सरकारी कर्मचारीबाहेक अन्यलाई प्रोत्साहन राशि प्रदान गरिने छ। सरकारी महिला कर्मचारीहरूले प्रसूति विदा समाप्त भएर पुनः कार्यालयमा आउन सुरु गरेपछि उनीहरूको शिशुहरूको निम्ति हेरचाहकर्ताको प्रबन्ध पनि सरकारले मिलाइदिनेछ। राज्य सरकारले नवजात शिशुहरूलाई ६ महिनासम्म विशेष स्तनपान गराउने र सुत्केरी भएको एक घण्टाभित्र आमाले उत्पादन गर्ने नवजात शिशुलाई कोलोस्ट्रम खुवाउने महत्वबारे जनचेतना जगाउने प्रस्ताव राखेको छ। हामीले गोजीबाट हुने खर्चलाई घटाउने आमा र बाल-बालिकाहरूमा हुने रक्तअल्पतालाई घटाउने, स्वस्थ खानपानको बानी बसाल्नको लागि सही खाने अभियानलाई अपनाउने र व्यवहार परिवर्तनमा समुदायको सहभागिता बढाउने उद्देश्यका साथ धेरै गतिविधिहरू आरम्भ गर्ने प्रस्ताव राखेका छौं। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन् हाम्रा किसानहरू (कृषि, बागवानी र पशुपालन क्षेत्र) लाई प्रोत्साहन गर्ने र सहभागिता बढाउने उद्देश्यका साथ राज्य सरकारले योजनाहरू तयार गरेको छ र धेरै प्रो-अर्गानिक योजनाहरू कार्यान्वित गरेको छ। अलैँची, अदुवा, बेसार, फापर, सुन्तला, बन्दकोपी, फूलकोपी, हरियो मटर, गाजर, डल्ले खोसानी, मूला, किवी र दालका प्रजातिहरू जस्ता १३ कृषि र बागवानी वस्तुहरूलाई प्रोत्साहन प्रदान गर्नका साथै राज्य सरकारले दूध उत्पादक किसानलाई प्रतिलिटर दूधमा ८ रुपियाँ प्रोत्साहन राशि उपलब्ध गराउँदै आएको छ। वर्तमान सरकारको पहलमा सिक्किमले ग्रामीण क्षेत्रको विकासमा राजनितिको हस्तक्षेपलाई समाप्त गरेर एउटा ऐतिहासिक निर्णय गरेको छ। सिक्किम पञ्चायत ऐन १९९३ की धारा १२९ मा संशोधन गरेर पाटीगत पञ्चयात चुनाव समाप्त गरिएको छ। यसका साथै राज्य सरकारद्वारा राजनीतिक आबद्धतामा आधारित कुनै भेदभावरहित सबै ग्रामीण क्षेत्रहरूमा विकास गर्ने दृष्टिकोण राखेको छ। जनतालाई पारदर्शी अनि सुशाशन उपलब्ध गराउने उद्देश्यले राज्य सरकारद्वारा सोरेङ अनि पाकिम २ वटा नयाँ जिल्ला बनाइएको छ। राज्य सरकारले धेरै क्षेत्रमा ठूला मायलखुट्टीहरू हासिल गरिसकेको छ र अझ धेरै महत्त्वपूर्ण परियोजना अनि नीतिहरू छन्, जसलाई राज्य सरकार लागू गर्न चहान्छ।










