गान्तोकः राजधानीस्थित पाल्जोर स्टेडियमको इण्डोर हलमा हिजोदेखि शुरू भएको छैटौं युथ मेन्स नेशनल बक्सिङ प्रतियोगिताको दोस्रो दिनको कार्यक्रममा राज्यका ग्रामीण विकास विभाग मन्त्री सोनाम लामा मुख्य अतिथिकोरूपमा उपस्थित थिए। सिक्किम अमेच्युर बक्सिङ एसोसिएशन र बक्सिङ फेडरेशन अफ इन्डियाको संयुक्त पहलमा शुरू भएको यस प्रतियोगितामा देशका सबै राज्य र युनियन टेरिटोरीबाट खेलाडीहरूले सहभागिता जनाएका छन्। हिजो १३ जूनदेखि शुरू भएको यस प्रतियोगिताको फाइनल आगामी १८ जूनको दिन हुने आयोजक समितिले जानकारी गराएको छ।
आयोजक समितिका अध्यक्ष जसलाल प्रधानले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको खेलप्रतिको सकारात्मक सोंचकै कारण यस प्रकारको प्रतियोगिता राज्यमा आयोजना गर्न सफल बनेको बताए। उनले अहिले देशका विभिन्न राज्यबाट आएका खेलाडी साथै कोचहरूले सिक्किम राज्यको प्रशंसा गरिरहेको उनले बताए। सिक्किम राज्यमा आगन्तुक खेलाडी साथै कोचहरूको निम्ति राम्रो प्रबन्धन गरिदिएकोमा सबैले राज्य सरकारप्रति कृतज्ञता प्रकट गर्दै धन्यवाद दिएको उनले बताए। उनले राज्य सरकारको सहयोग बिना राष्ट्रियस्तरको कार्यक्रम सिक्किममा आयोजना गर्न असम्भव थियो भनी बताएका छन्।
-हिस










