मामरिङमा एसएसबी ६९औँ बाहिनीको नागरिक कार्य कार्यक्रम सम्पन्न

FB_IMG_1795090046416

स्वास्थ्य शिविर, पशु उपचार र सौर्य बत्ती वितरण

​पाक्योङ: सशस्त्र सीमा बल (एसएसबी) ६९औँ बाहिनी, पाक्योङको आयोजनामा ‘नागरिक कार्य कार्यक्रम (सीएपी नर्थ-इस्ट) २०२६-२७’ अन्तर्गत सञ्चालित विभिन्न जनकल्याणकारी गतिविधिहरूको समापन समारोह मङ्गलबार सिक्किमको मामरिङस्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा भव्यताका साथ सम्पन्न भएको छ।

सिक्किम सरकारका स्वास्थ्य एवं परिवार कल्याण तथा संस्कृति विभागका माननीय मन्त्री श्री जी.टी. ढुङ्गेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। समारोहमा एसएसबी फ्रन्टियर मुख्यालय सिलिगुडीका महानिरीक्षक (आईजी) श्री वन्दन सक्सेना तथा सेक्टर मुख्यालय गान्तोकका उप-महानिरीक्षक (डीआईजी) श्री ए. हेमोचन्द्रको विशेष उपस्थिति रहेको थियो। यसका साथै जिल्ला प्रशासनका प्रतिनिधि, पञ्चायत प्रतिनिधि, विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको बाक्लो सहभागिता रहेको थियो।
​सीमावर्ती क्षेत्रका युवा तथा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले एसएसबीद्वारा सञ्चालित विभिन्न सीप विकास तालिम सफलतापूर्वक पूरा गरेका प्रशिक्षार्थीहरूलाई सोही अवसरमा प्रमाणपत्र र प्रशिक्षण सामग्री (ट्रेनिङ किट) वितरण गरिएको थियो। सीमावर्ती गाउँहरूमा आधारभूत पूर्वाधार विकासलाई प्रवर्द्धन गर्न सौर्य सडक बत्ती (सोलार स्ट्रिट लाइट) वितरण गरिनुका साथै मैत्रीपूर्ण फुटबल खेलको समेत आयोजना गरिएको थियो।
​समारोहमा स्थानीय विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए। पौष्टिक आहार र स्थानीय स्तरमा उत्पादित कोदोका परिकारहरूको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम स्थलमा ‘कोदो मेला’ (मिलेट मेला) समेत आयोजना गरिएको थियो।
​यसैगरी, कार्यक्रम अन्तर्गत सञ्चालित निःशुल्क चिकित्सा शिविर (एमसीए) बाट ३४ पुरुष, २६ महिला र २२ बालबालिका गरी कुल ८२ जना स्थानीय बासिन्दाले स्वास्थ्य लाभ लिएका छन्। साथै, निःशुल्क पशु चिकित्सा शिविर (भीसीए) मार्फत ४६ जना पशुपालक किसान लाभान्वित भएका छन् भने ६३ गाईवस्तु, ७६ कुखुरा, ३६ भेडा-बाख्रा, ११ कुकुर र २ सुँगुर गरी कुल १८८ वटा पशुपन्छीको उपचार तथा औषधि वितरण गरिएको छ।

सशस्त्र सीमा बल ६९औँ बाहिनी पाक्योङले नागरिक कार्कार्यक्रम २०२६-२७ मार्फत सीमावर्ती क्षेत्रको सीप विकास, महिला सशक्तीकरण, स्वास्थ्य सेवा, पशुपन्छी कल्याण र पूर्वाधार विकासमा निरन्तर योगदान पुऱ्याउँदै आएको छ। यस्ता जनमुखी कार्यक्रमले सीमावर्ती समुदायको सामाजिक-आर्थिक उत्थानमा टेवा पुग्नुका साथै नागरिक र सुरक्षा बलबीचको सम्बन्ध प्रगाढ बनाउँदै स्थानीय बासिन्दामा सुरक्षाको प्रत्याभूति र आपसी विश्वास अभिवृद्धि गरेको बाहिनीले जनाएको छ।

About Author

Advertisement