सोनादा: मार्सल आर्ट एण्ड फिटनेस एकाडेमी(माफा)को सोनादा शाखाको नयाँ डोजोको उद्घाटन सोनादाको पेट्रोल पम्प नजिक सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रममा दार्जीलिङ जिल्ला ‘राष्ट्रिय स्वयंसेवक संघ’ (आरएसएस) का प्रभारी देवेन्द्रकुमार प्रधानले मुख्य अतिथिको रूपमा उपस्थित भएर कार्यक्रमको शोभा बढाएका थिए। त्यसैगरी, देव कुमार प्रधान विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। यस उद्घाटन समारोहमा सुमेश तामाङ, केवल नारायण प्रधान, सुमन गुरुङ अनि अभिभावकहरू लगायत अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो। एकाडेमीकी संस्थापक कोषाध्यक्ष प्रमिला प्रधान अनि माफाकी निर्देशक कल्पना छेत्रीले नयाँ डोजोको संयुक्त रूपमा उद्घाटन गरे। उद्घाटन लगत्तै विद्यार्थीहरूले अतिथिहरूका सामु विभिन्न कला र प्रदर्शनहरू प्रस्तुत गरेका थिए।
यसै क्रममा प्रथम चरणको ग्रेडिङ परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीहरूलाई मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीबाट पहेंलो बेल्ट र प्रमाणपत्र वितरण गरियो। माफाका अध्यक्ष सेन्सेई सन्दीप गोर्खा प्रधानले जानकारी दिए अनुसार उनले सोनादा शाखामा जुडो र मिक्स्ड मार्शल आर्ट्स पनि वुरु गरिएको छ, जसले गर्दा हरेक उमेरका मानिसहरूले आत्मरक्षा गर्न सिक्न सकून् र युवाहरू मोबाइलमा मात्रै व्यस्त रहनुको साटो शारीरिक गतिविधिहरूमा संलग्न हुन सकून् भनी बताए। युवाहरूलाई फाइट स्पोर्ट्समा आफ्नो क्षमता प्रमाणित गर्ने उचित प्लेटफर्म प्रदान गरिनेछ र उनीहरूले उच्च स्तरका च्याम्पियनसिपहरूमा पनि प्रतिस्पर्धा गर्न सक्नेछन् भन्दै प्रधानले आगामी दिनहरूमा महिलाहरूका लागि जुम्बा पनि शुरु गरिने जनाउँदै, जसले गर्दा हाम्रो समाज स्वस्थ रहन सकोस् भनी जनाए। यसका साथै, फाइट स्पोर्ट्समा आफ्नो करियर बनाउन चाहने उत्कृष्ट विद्यार्थीहरूलाई उनीहरूको प्रदर्शन र आचरण हेरेर रोजगारीको अवसर पनि प्रदान गरिने आश्वासन प्रधानले दिए। एकेडेमीले यसअघि नै त्यहाँबाट उत्तीर्ण भएका सातजना विद्यार्थीहरूलाई रोजगारी प्रदान गरिसकेको तिनले अवगत गराएका छन्।










