मुख्य सडकहरूमा ‘ब्रेथ एनालाइजर’ परीक्षण र नाका चेकिङ तीव्र
सिलगढी: सहरी सडक सुरक्षालाई चुस्त-दुरुस्त बनाउन सिलगढी ट्राफिक पुलिसले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने (ड्रंक एन्ड ड्राइभ) विरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। सडक दुर्घटना न्यूनीकरण तथा सवारी चालकहरूलाई नियम पालना गराउने उद्देश्यले नगरका मुख्य-मुख्य स्थानहरूमा नियमित नाका चेकिङ र ‘ब्रेथ एनालाइजर’ परीक्षण अभियान सञ्चालन भइरहेको छ।
सिलिगुढी पुलिस कमिसनरेटका अनुसार नियम उल्लङ्घन गर्ने चालकहरूलाई नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाइएको छ। मापसे गरी सवारी चलाउँदा चालक स्वयं, यात्रु, पैदल यात्री र अन्य सडक प्रयोगकर्ताहरूको ज्यान जोखिममा पर्ने भएकाले पुलिसले कडा कदम चालेको हो।
सुरक्षित र जिम्मेवार सवारी हाँक्ने बानीको विकास गर्न आग्रह गर्दै पुलिसले मापसे गरेर सवारी नचलाउन र सिलगढीका सडकहरूलाई सबैका लागि सुरक्षित बनाउन नागरिकहरूसँग सहयोगको अपिल गरेको छ।











