लालकोठीमा योजनाहरूको प्रगति र कार्यान्वयनबारे घनीभूत छलफल
दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को आयोजनामा दार्जिलिङस्थित लालकोठीमा एक विशेष विकास समीक्षा बैठक सम्पन्न भएको छ। दार्जिलिङ पहाडी क्षेत्रमा सञ्चालित विभिन्न विकास निर्माण तथा सार्वजनिक कल्याणकारी योजनाहरूको हालको अवस्था र आगामी रणनीतिका विषयमा बैठकमा घनीभूत छलफल भएको हो।
मंत्री विशाल लामाका अनुसार उक्त उच्चस्तरीय बैठकमा जीटीएका प्रमुख सचिव स्मृतिरञ्जन महन्ती, दार्जिलिङ तथा खर्साङका सभासद्/विधायकहरू, दार्जिलिङका जिल्ला मजिस्ट्रेट (जिलाधीश) लगायत जीटीएका वरिष्ठ प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकमा हाल सञ्चालनमा रहेका पूर्वाधार विकासका आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगति समीक्षा गर्नुका साथै प्राथमिकता प्राप्त योजनाहरूलाई सहजरुपमा अघि बढाउने विषयमा छलफल भएको छ। जनहितका परियोजनाहरूलाई तोकिएको समयसीमाभित्रै प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि विभिन्न प्रशासनिक विभागहरूबीच बलियो समन्वय हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
दार्जिलिङ पहाडी क्षेत्रको समग्र विकास, सुशासन प्रवर्धन र जनसाधारणको समृद्धिप्रति प्रतिबद्धता जनाउँदै योजनाहरूको कार्यान्वयनलाई अझ तीव्रता दिने निर्णय बैठकमा गरिएको छ।










