गान्तोक: सिक्किम उच्च अदालतका प्रधानन्यायाधीश ए. मुहामेद मुस्ताकले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) को परिवारलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ।
मुख्यमन्त्री तामाङकी आमा स्व. धनमाया तामाङको निधनप्रति शोक व्यक्त गर्न प्रधानन्यायाधीश मुस्ताक सोरेङ जिल्लाको सिङलिङस्थित तामाङको निवासमै पुग्नुभएको हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री तामाङले कठिन घडीमा परिवारलाई भेटेर सान्त्वना र समवेदना प्रदान गरेकामा प्रधानन्यायाधीश मुस्ताकप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले पीडाको समयमा व्यक्त गरिएको सद्भाव र ढाडसलाई आफू र आफ्नो परिवारले उच्च सम्मानका साथ स्मरण गर्ने उल्लेख गर्नुभएको छ।





