जिरकॉन हाइपरसोनिक मिसाइल सुसज्जित
मस्को: रुसले हाइपरसोनिक मिसाइल बोक्न सक्ने नयाँ आणविक पनडुब्बी ‘पर्म’ लाई आफ्नो नौसेनामा औपचारिक रूपमा समावेश गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत शुक्रबार उत्तर-पश्चिमी रुसको सेभेरोडविन्स्कस्थित सेभमाश शिपयार्डमा आयोजित झन्डोत्तोलन समारोहमा सहभागी भई पनडुब्बी नौसेनालाई हस्तान्तरण गर्नुभएको हो। यो पनडुब्बी रुसी जिरकॉन हाइपरसोनिक मिसाइलले सुसज्जित पहिलो पनडुब्बी भएको दाबी गरिएको छ।
रुसी नौसेनाको चौथो पुस्ताको आक्रमणकारी आणविक पनडुब्बी ‘पर्म’ प्रोजेक्ट ८८५ शृङ्खलाको छैटौँ र अपग्रेड गरिएको प्रोजेक्ट ८८५एम (यासेन-एम श्रेणी) अन्तर्गत निर्माण गरिएको हो। युराल पहाड नजिकै रहेको सहरको नामबाट राखिएको यो नाममा रुसको यो दोस्रो पनडुब्बी हो; यसअघि प्रोजेक्ट ६७१आरटीएमके श्रेणीको ‘बी-२९२ पर्म’ नामक पनडुब्बी सञ्चालनमा थियो।
राष्ट्रपति पुटिनका अनुसार सन् २०३० सम्ममा रुसी नौसेनामा थप पाँचवटा आणविक पनडुब्बी समावेश गरिनेछ, जसमा यासेन-एम श्रेणीका तीनवटा पनडुब्बी रहनेछन्। विश्वका जुनसुकै महासागरमा सञ्चालन हुन सक्ने यी पनडुब्बीहरूले विभिन्न प्रकारका क्रुज मिसाइल बोक्न सक्छन् र आणविक आक्रमणको अवस्थामा जवाफी कारबाही (सेकेन्ड-स्ट्राइक) क्षमतालाई सुदृढ बनाउँछन्।
पनडुब्बीमा जडान गरिएको ३एम२२ जिरकॉन हाइपरसोनिक मिसाइल युद्धपोत तथा जमिनका लक्ष्यमा सटिक प्रहार गर्न डिजाइन गरिएको छ। यसको मारक क्षमता ४०० देखि १,००० किलोमिटरसम्म रहेको विभिन्न दाबी छन् भने वारहेडको तौल करिब ३००–४०० किलो रहेको जनाइएको छ। राष्ट्रपति पुटिनले जिरकॉन मिसाइलको गति ध्वनिको गतिभन्दा नौ गुणा तीव्र रहेको बताउनुभएको छ।





