नाम्ची: मानव उत्थान सेवा समिति दक्षिण सिक्किम नाम्ची अनि सुम्बुक तहसीलको संयुक्त तत्वावधानमा रोङस्थित श्री हंस अमर भवनमा मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सतपालजी महाराजकी अर्धांगिनी अमृता माताजीको ६६औं जन्म दिवस पालन गरियो। यसअन्तर्गत पण्डितद्वारा मन्त्रोच्चारण, हवन साथै अष्ट चिरिञ्जीवी पूजा सम्पन्न भयो। कार्यक्रमको दोस्रो चरणमा सत्संग सम्पन्न भयो। जसमा सिक्किम सरकारका लोक आयुक्त विभागका संयुक्त सचिव आसबहादुर गुरूङ मुख्य अतिथि थिए। नाम्ची तहसील प्रभारी महात्मा सुमति बाईजी, सुम्बुक तहसील प्रभारी महात्मा चन्द्रकान्ति बाईजी र महात्मा अणिमा बाईजी विशिष्ट अतिथिका रुपमा उपस्थित थिइन्। कार्यक्रममा नाम्ची तहसील सह-प्रभारी महात्मा अणिमा बाईजीले आफ्नो सम्बोधनमा प्रत्येक चाड़ पर्व, महापुरुषहरूको जन्मदिनले मानव समाजलाई सन्देश दिएको बताइन्। यसरी नै सुम्बुक तहसील प्रभारी महात्मा चन्द्रकान्ति बाईजी र नाम्ची तहसील प्रभारी महात्मा सुमति बाईजीले माता अमृताजीको जीवनीमाथि बोल्दै उनले समाज अनि नारीहरुको उत्थानको निम्ति प्रेरणादायी कार्य गरेको बताइन्। यसरी नै मुख्य अतिथि गुरुङले मानवको मनका पाँच शत्रुहरू काम, क्रोध, लोभ, मोह, ईर्ष्यालाई वशमा गर्न अध्यात्मज्ञान जरूरी रहेको बताए। छोरा-छोरीलाई संस्कार र संगति दिनु हो भने अध्यात्मको शरणमा प्रेरित गर्ने सुझाउ राखे। मानव उत्थान सेवा समितिले समाज र आत्माको उत्थान गर्ने कार्य गरिरहेको बताए। यसबीच मुख्य अतिथि गुरुङलाई उनले समाज र पर्यावरणका लागि पुऱ्याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मानित गरिएको थियो। कार्यक्रममा बाल सभाका नानीहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो।










