मालदा: पुरातन मालदा जिल्लास्थित महानन्दा नदीमा नुहाउने क्रममा बिहीबार दुई जना नाबालक डुबेर बेपत्ता भएका छन्। पुरातन मालदा नगरपालिकाको वार्ड नम्बर दुईमा पर्ने बाँशहाट घाटमा दिउँसो यो दुःखद घटना भएको हो। बेपत्ता हुने बालकहरूमा दक्षिण दिनाजपुरको कुशमण्डी घर भई मामाघर आएका १० वर्षीय अर्पण सरकार र स्थानीय ८ वर्षीय देव हालदार रहेका छन्।
स्थानीयका अनुसार बिहीबार अपराह्न दुवै बालक आफ्ना साथीहरूसँग महानन्दा नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा अचानक नदीको गहिरो पानी र तीव्र बहावमा परेर दुवै जना बेपत्ता भएका हुन्। उनीहरू डुबेको देखेपछि सँगै रहेका अन्य साथीहरूले गुहार मागेका थिए। बालकहरूको चिच्याहट सुनेर स्थानीय बासिन्दा तुरुन्तै घटनास्थल पुगेर उद्धारको प्रयास गरे पनि उनीहरूलाई फेला पार्न सकेनन्।
घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी र विपद् व्यवस्थापनको टोली घटनास्थल पुगेर खोजतलास सुरु गरेको छ। तर, लामो समयसम्म खोजी गर्दा पनि बालकहरूको अवस्था पत्ता लाग्न सकेको छैन। यसैबिच स्थानीय पार्षद बसन्ती रायले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रशासनको ढिलासुस्तीप्रति आपत्ति जनाएकी छन्। सूचना दिएको झन्डै डेढ घण्टापछि मात्र विपद् व्यवस्थापनको टोली आइपुगेको आरोप लगाउँदै उनले यस्ता भवितव्यमा तत्काल राहत कार्य सुरु गर्न प्रत्येक थाना र जिल्लामा स्थायी विपद् व्यवस्थापन संयन्त्र हुनुपर्ने माग गरिन्। नदीमा हाल प्रशासनको तर्फबाट खोजी अभियान जारी राखिएको छ भने यस घटनाले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।










