सिलगढी: एक जना चेलीलाई खाडी क्षेत्रको मस्कटबाट उद्धार गरिएपछि सांसद राजु बिष्टले दार्जीलिङ क्षेत्रका जनताको तर्फबाट विदेशमन्त्री डा. एस. जयशङ्कर, विदेश मामिला मन्त्रालयका अधिकारीहरू, ओमानमा भारतीय राजदूत अमित नारङ्ग, अनि मस्कटमा भारतीय दूतावासका समर्पित कर्मचारीहरू हार्दिक आभार प्रकट गरेका छन्। गत वर्ष २३ दिसम्बरमा एक चेलीकी परिवारले मस्कटबाट उनलाई उद्धार गरिदिने माग गर्दै एउटा निवेदन आफूकहाँ गरेको सांसद राजु बिष्टले बताएका छन्। ती चेली एजेन्टको जालसाजीको शिकार बनेकी थिइन् जसको परिणामस्वरूप उनलाई आवश्यक भिसा एवं दस्तावेज बिना काम गर्न बाध्य गरिएको थियो, अनि उनको पासपोर्ट पनि खोसिएको थियो भन्ने सांसद राजु बिष्टले एक प्रेस विज्ञप्तिमा बताएका छन्।
यस मामिलामा हस्तक्षेप गर्न डा. एस. जयशङ्करलाई सांसद राजु बिष्टले अनुरोध गरेका थिए। विज्ञप्तिमा उनले यसो भनेका छन्, ‘आज मलाई विदेश मामिला मन्त्रालयबाट प्राप्त जवाफ साझा गर्दा खुशी लागिरहेको छ, जसमा ती इन्डिगोको उडानद्वारा ३१ जनवरी २०२४ मा सफलतापूर्वक मुम्बई पुगिसकेको पुष्टि गरिएको छ। त्यसपछि उनी मुम्बईबाट इन्डिगो उडानद्वारा १ फरवरीमा बागडोग्रा आइपुगेकी छिन्l ती बहिनी दार्जीलिङ फर्केर आफ्नो परिवारसँग पुनर्मिलन गर्न सफल भएकोमा म उनलाई न्यानो स्वागत जनाउँछुl’ सांसद राजु बिष्टले अझ भनेका छन्, ‘म मेरा सह-नागरिकहरूलाई विदेशका कुनै पनि देशमा काम गर्न निस्कँदा सबै विवरणहरूको ध्यानपूर्वक पुष्टि गर्न आग्रह गर्दछुl’ उनले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति पनि आभार प्रकट गरेका छन्।











