मंगन: राज्यका सड़क तथा पूल विभागीय मन्त्री सामडुप लेप्चाले आज मंगन जिल्ला अन्तर्गत मानुलस्थित क्युङ नदीमा निर्माण गरिएको मान्छे हिँड़्ने पूलको उद्घाटन गरे। यस अवधि कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङ्गेल भोटिया, सिक्किम कल्याण विभागका अध्यक्ष निमछिरिङ लेप्चा, मंगन जिल्लाका अतिरिक्त जिल्लापाल आर. के. लिम्बू, खण्ड विकास अधिकारी कैलाश थापा, ग्राम पञ्चायत सदस्यगण अनि स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो।मंगन खण्ड प्रशासनिक केन्द्रको पहलमा टुङ नागा ग्राम पञ्चायतको १५औं वित्तीय आयोगमार्फत ग्राम पञ्चायत विकास योजना कोषबाट उक्त पूल निर्माण गरिएको हो। विद्यार्थी अनि स्थानीय मानिसहरूले बर्खाको समयमा पनि जंघारै नदी तर्नुपर्ने समस्यालाई ध्यानमा राखेर साथै पर्यटन स्थलमा पर्यटकहरूलाई आकर्षिक गर्ने उद्देश्यले यो पूल निर्माण गरिएको छ।योसँगै लङ क्युङ मानुलमा रहेको क्याफेटेरिया नजिक रहेको पार्किङ स्थल ग्राम पञ्चायतका युवाहरूलाई रोजगार अवसर प्रदान गर्ने उद्देश्यले ठीकाको आधारमा हस्तान्तरण गरिएको छ। यस पर्यटन स्थलबाट राजस्व पनि संग्रह गर्न सकिनेछ।यस कार्यपछि क्षेत्र विधायक एवं मन्त्री लेप्चाले स्थानीय मानिसहरूसँग भेट गरेर उनीहरूको समस्या अनि गुनासो सुन्ने कार्य गरे। मन्त्री लेप्चाले सम्भवत सबै समस्याहरू प्राथमिकताको आधारमा समाधान गरिदिने आश्वासन दिएका छन्।










