गान्तोक: ७७औं स्वतन्त्रता दिवसलाई मध्य नजर राखेर आजदेखि नामथाङ बाल कृष्ण कसाजु उच्चतर माध्यमिक विद्यालयमा एमएलए च्यालेन्ज कप फुटबल प्रतियोगिताको शुरू भयो। आजको उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रूपमा उपस्थित थिए भने क्षेत्र विधायक एवं मन्त्री सञ्जित खरेल विशिष्ट अतिथीको रुपमा उपस्थित थिए। सोही प्रकारले मन्त्री खरेलकी धर्मपत्नी आशा खरेल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा बाल कृष्ण कसाजु उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्य अतिथि खालिङले नामथाङ क्षेत्रले अतिनै समर्पित विधायक पाएको कारणले यो क्षेत्रले छोटो समयमा धेरै विकासका कार्यहरू गरेको बताए। आफूलाई नामथाङ निर्वाचन क्षेत्र सदैव दोस्रो घर सरह महसुस हुने गरेको खालिङले अवगत गराए। यस क्षेत्रका विधायक पार्टी अनि सिक्किमे जनताको निम्ति अतिनै समर्पित रहेर सदैव अग्रपंक्तिमा बसेर कार्य गर्ने हुँदा यो क्षेत्रको विकासको निम्ति विधायक दलको बैठकमा जुनै प्रस्ताव ल्याए पनि कहिले कसैले विरोध नगरेको उनको भनाइ रहेको थियो। विधायक खरेलको यही समर्पण भावनाको कारण मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि यो क्षेत्रको विकासको निम्ति सकारात्मक रहेको खालिङले बताए। आफू जनप्रतिनिधिको रूपमा चिनिएको दिनदेखिनै मन्त्री खरेलले क्षेत्रको सर्वाङ्गीण विकासको निम्ति दिन रात एक गरेर कार्य गरिरहेको उनले किटान गरे। यो चार वर्षको अवधिमा नामथाङमा मोडल स्कूलको निर्माण प्रक्रिया अनि नामथाङलाई महकुमा बनाउनको निम्ति विधायक खरेलले गरेको पहल अतिनै सराहनिय रहेको दावी गरे। यो पुस्ता बितेर गए पनि विधायक खरेलले गरेको यो प्रशंसनीय कार्यलाई आउँदो पुस्ताले पनि सदैव सम्झना गर्ने उनले बताए। मन्त्री खरेलको सक्रियता अनि मुख्यमन्त्री प्रेमसिंह तामाङको आशीर्वादमा नामथाङ क्षेत्रमा आगामी दिनमा अझ विकास हुनसक्ने पनि उनले विश्वास व्यक्त गरे। आज उद्घाटन समारोहमा छुजाचेन स्पोर्टिङ्ग क्लव अनि मामरिङ रोयल फुटबल क्लब माझ भीडन्त भयो।










