कोलकाताः भाजपाको राष्ट्रिय कार्यकारिणीमा लगातार दोस्रो पल्ट ठाउँ पाउँदा उत्साहित युवा नेता अनुपम हाजराले आफूलाई बंगाल भाजपाको सबैभन्दा विश्वासिलो अनुहार बताएका छन्। पार्टीको राष्ट्रिय अध्यक्ष जेपी नड्डाले शनिवार जुन नयाँ कार्य समिति गठनको घोषणा गरेको छ, त्यसमा बंगाल भाजपाका पूर्व अध्यक्ष दिलीप घोषलाई स्थान दिइएको छैन तर अनुपम हाजरा त्यस सूचीमा राष्ट्रिय सचिवको पदमा कायम छन्। यसलाई लिएर शनिवार उनले जेपी नड्डा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।
उनले भऩे, म माननीय प्रधानमन्त्री र जेपी नड्डालाई विशेष रूपमा धन्यवाद, प्रणाम गर्दछु। पश्चिम बंगालबाट एकमात्र विश्वस्त अऩुहारको रूपमा दोस्रो पल्ट मैले राष्ट्रिय कार्यकारिणीमा ठाउँ पाएको छु। यो मेरो निम्ति ठूलो उपलब्धी हो। धेरै राम्रो लागिरहेछ। गत दुई वर्षदेखि भाजपा हेड क्वार्टर वा दिल्लीमा रहँदा मलाई जुनैपनि इन्टेलेक्चुअल इनपुट दिने वा पार्टीको रणनीति तयार पार्ने काम दिइएको थियो, त्यसलाई निष्ठाले पालन गरेको छु। यसैले आज यो स्वीकृति पाएको छु’। उल्लेख्य, भाजपाको राष्ट्रिय कार्यकारिणीमा बंगाल भाजपाका पूर्व अध्यक्ष दिलीप घोषलाई राष्ट्रिय उपाध्यक्ष पदबाट पनि हटाइएको छ। यसलाई लिएर बंगालमा चर्चा तीव्र भएको छ।
-हिस










