बिर्तामोड: वैदेशिक रोजगारीको सपना देखाएर सरकारी निर्णय र आधिकारिक कागजातकै दुरुपयोग गर्दै नेपाली युवाबाट साढे ६ करोड रुपैयाँ ठगी गरिएको घटना सार्वजनिक भएको छ। इजरायलमा केयरगिभरको जागिर लगाइदिने भन्दै मन्त्रिपरिषद्को नक्कली एजेन्डा, निर्णय र सरकारी छापसमेत प्रयोग गरी युवालाई झुक्याइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले देखाएको छ।
अनुसन्धानअनुसार, सन् २०२४ मा इजरायलमा केयरगिभरका लागि आयोजित परीक्षामा उत्तीर्ण भए पनि प्रतीक्षा सूचीमा रहेका युवालाई निशाना बनाइएको थियो। पहिलो चरणमा १५६ जनालाई इजरायल पठाउने भन्दै सरकारी तहबाटै काम मिलाइदिने आश्वासन दिएर रकम असुलिएको आरोप छ।
सरकारी निर्णय भएको भ्रम सिर्जना गर्न नक्कली कागजात तयार पारिएको र उच्च पदस्थ व्यक्तिसँग निकट सम्बन्ध रहेको दाबी गरी पीडितको विश्वास जित्ने प्रयास गरिएको प्रहरीको भनाइ छ।
यस प्रकरणमा भरत चौलागाईं, बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र विनिता खड्कासहित पाँच जना पक्राउ परेका छन्। उनीहरूमाथिका आरोप भने अदालतबाट प्रमाणित हुन बाँकी छन्।
सीआईबीमा हालसम्म २२ जनाले उजुरी दिएका छन्। उनीहरूबाट कुल साढे ६ करोड रुपैयाँ ठगी भएको विवरण सार्वजनिक भएको छ। एक व्यक्तिबाट मात्रै साढे दुई करोड रुपैयाँसम्म असुलिएको बताइएको छ।
प्रहरीले ठगीसँगै आपराधिक लाभ र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। पीडितको संख्या र रकम थप बढ्न सक्ने भन्दै प्रहरीले अन्य पीडितलाई पनि उजुरी दिन आग्रह गरेको छ।





