मङ्गन: लामो समयसम्म रहने मनसुन, सम्भावित पहिरो र प्राकृतिक विपद्को उच्च जोखिमलाई मध्यनजर गर्दै मङ्गन जिल्ला प्रशासनिक केन्द्रको सभाकक्षमा आज वार्षिक मनसुन पूर्वतयारी बैठक सम्पन्न भएको छ। जिल्लापाल अनन्त जैनको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा आगामी मनसुनका क्रममा जिल्लामा हुन सक्ने सम्भावित विपद् व्यवस्थापन, पूर्वतयारी, विभिन्न विभागहरूको जिम्मेवारी र निकायहरूबिचको आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरियो। बैठकमा मङ्गनका पुलिस अधीक्षक एलबी छेत्री, अतिरिक्त जिल्लापाल (विकास) डा. सोनाम रिन्छेन लेप्चा, एसडीएम सन्दिप कुमार लगायत विभिन्न विभागका कार्यालय प्रमुखहरूको उपस्थिति थियो भने ग्रेफ तथा अन्य सम्बन्धित निकायका अधिकारीहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
बैठकका क्रममा जिल्लापाल अनन्त जैनले विगतका केही विपद्का परिस्थितिहरू स्मरण गर्दै ती कठिन अवस्थामा गरिएको समन्वयात्मक प्रयास र उद्धार तथा राहत कार्यमा संलग्न सबै विभागहरूको योगदानको प्रशंसा गरे। उनले जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया गर्दै विपद्को समयमा प्रत्येक निकायको भूमिकाबारे समीक्षा समेत गरे। सो अवसरमा विभिन्न विभागका अधिकारीहरूले आफ्नो तयारीको अवस्था र भोग्नुपरेका चुनौतीहरू प्रस्तुत गरेका थिए, जसमा जिल्लापालले प्रशासनको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिए।
सडक तथा पुल विभागका अधिकारीहरूले जिल्लामा निर्माणाधीन सडक आयोजनाहरूको अवस्था, तत्काल ध्यान दिनुपर्ने प्राविधिक समस्या र कार्य सम्पन्न गर्ने समयसीमाबारे बैठकलाई जानकारी गराएका थिए। त्यसैगरी, ८६ आरसीसी तथा १०७ आरसीसी, ग्रेफका कमान्डिङ अधिकारीहरूले क्रमशः ताराम चु र मङ्गन साङ्कलाङ मार्गको सडक सम्पर्कको वर्तमान अवस्थाबारे जानकारी दिए। जिल्लापाल जैनले ती दुवै सडकखण्डका जोखिमयुक्त स्थानहरूमा तत्काल आवश्यक सुरक्षा उपाय अपनाउन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। मङ्गन जिल्ला प्राकृतिक आपदाको हिसाबले संवेदनशील क्षेत्र रहेकाले मनसुन अवधिभर प्रत्येक विभागलाई उच्च सतर्कता र पूर्ण तयारीका साथ कार्यक्षेत्रमा खटिन उनले आग्रह गरे।










