सिलगढी: ‘उरमाल’ उपन्यासका लागि वर्ष २०२५ को मदन पुरस्कार प्राप्त गरेका युवा आख्यानकार छुदेन काविमोलाई बिहीबार विशेष कार्यक्रमबीच एकता बुक हाउस इन्डियाले सम्मान गरेको छ।
‘उरमाल’ काविमोको पछिल्लो उपन्यास हो, जसमा चियाबारी श्रमिकहरूको जीवनसंघर्षलाई मार्मिक रूपमा चित्रण गरिएको छ। ‘फातसुङ’ उपन्यासमार्फत् एकाएक चर्चामा आएका काविमोको विशिष्ट लेखन शैलीका कारण ‘उरमाल’ पनि पाठकमाझ अत्यन्त लोकप्रिय भइरहेको छ।
कार्यक्रममा उपस्थित प्रा. डा. मोहन पी. दाहालले ‘उरमाल’ले आफ्नो बाल्यकालका स्मृतिहरू ताजा गराइदिएको बताउँदै डुवर्ससँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव सुनाए। उनले भने, “बाल्यकालमा हिँडेको, डुलेको र पौडी खेलेको समय फेरि सम्झिएँ।”

सम्मान कार्यक्रमसँगै लेखक छुदेन काविमोसँग अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो, जहाँ सहभागीहरूले उनको लेखन, सिर्जना प्रक्रिया र साहित्यिक यात्राबारे जिज्ञासा राखेका थिए। नयाँ लेखकहरूलाई प्रोत्साहन गर्ने तथा पुस्तकप्रेमीहरूलाई एकै थलोमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।










