पीडितलाई तत्काल राहतको आश्वासन
सिलगढी: शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण मतिगढाका विभिन्न क्षेत्रहरू जलमग्न भएका छन्। भारी वर्षाका कारण मतिगढाको निर्मल नगर, रवीन्द्र पल्ली र आसपासका इलाकाहरू पूर्ण रूपमा डुबानमा परेका हुन्, जसबाट स्थानीय जनजीवन नराम्ररी प्रभावित भएको छ।
डुबानको खबर पाउनासाथ मतिगढा-नक्शालबारीका विधायक एवं राज्यमन्त्री आनन्दमय बर्मन आइतबार बिहानै प्रभावित क्षेत्रको निरीक्षणमा पुग्नुभएको थियो। मन्त्री बर्मनले कम्मरसम्म आउने बाढीको पानीमा हिँड्दै थुप्रै प्रभावित घर र बस्तीहरूको वस्तुस्थिति नियाल्नुभएको थियो।
”हामी यस संकटको घडीमा जनताको साथमा छौँ। प्रभावित क्षेत्रका समस्याहरूलाई तत्काल सम्बोधन गर्न र नागरिकलाई चाँडोभन्दा चाँडो राहत पुर्याउन आवश्यक कदम चालिनेछ,” निरीक्षणका क्रममा मन्त्री बर्मनले भन्नुभभयो।

निरीक्षणका क्रममा उहाँले स्थानीय बासिन्दाहरूसँग भेटघाट गरी उनीहरूका समस्या र गुनासाहरू सुन्नुभएको थियो। बाढी र पानी जमेका कारण मतिगढा क्षेत्रका बासिन्दाहरूले ठुलो सास्ती भोग्नुपरिरहेको छ। मन्त्री बर्मनले समस्याको स्थायी समाधानका लागि सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिनुभएको छ।











