समीर हाङ लिम्बूको नेतृत्वमा नयाँ टिम
गान्तोक: प्रेस क्लब अफ सिक्किमको नयाँ कार्यसमितिको औपचारिक कार्यभार हस्तान्तरण तथा पदग्रहण समारोह आइतबार सम्पन्न भएको छ। यस समारोहमार्फत सन् २०२४-२६ कार्यकालको निवर्तमान कार्यसमितिले नवगठित २०२६-२८ कार्यकालका नवनिर्वाचित कार्यसमितिलाई आधिकारिक रूपमा आफ्नो जिम्मेवारी हस्तान्तरण गरेको हो।
तादोङस्थित एमपी गोलाईमा रहेको प्रेस क्लबको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच कार्यभार सुम्पिएको हो। निवर्तमान अध्यक्ष भीम राउत तथा निवर्तमान महासचिव डिल्लीराम दुलालले प्रेस क्लबका आधिकारिक दस्तावेज, निर्णय पुस्तिकाहरू र आर्थिक हरहिसाबको स्रेस्ता नवनिर्वाचित अध्यक्ष समीर हाङ लिम्बू तथा महासचिव होमनाथ दबाडीलाई हस्तान्तरण गरे।

उक्त पदभार ग्रहण कार्यक्रममा नवगठित १२ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम समापन भएपश्चात् प्रेस क्लब अफ सिक्किमका सदस्यहरूले क्लब परिसरमा एक स्वच्छता (सरसफाइ) अभियानसमेत सञ्चालन गरेका थिए।









