एक साताभित्र बेली ब्रिज पुनः सञ्चालन गरिने
मङ्गन: गएरातिको अविरल वर्षाका कारण तल्लो जोङ्गु अन्तर्गत फिदाङ-साङ्क लाङ मार्गमा रहेको फी खोला पुलमा क्षति पुगेपछि मङ्गनका जिल्ला मजिस्ट्रेट (डिस्ट्रिक्ट कलेक्टर) अनन्त जैनले आज बिहान घटनास्थलको निरीक्षण गरेका छन्। निरीक्षण टोलीमा मङ्गनका प्रहरी उपरीक्षक (एसपी) एलबी क्षेत्री र १०७ आरसीसी ग्रिफ (जीआरईएफ)का ओसी समेत सहभागी थिए।
भारी वर्षाका कारण फी खोलामाथि बनेको बेली ब्रिज बगाएपछि फिदाङ-साङ्क लाङ मार्गमा सवारी आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
निरीक्षण टोलीले बाढी र पहिरोले पुर्याएको क्षतिको विस्तृत मूल्याङ्कन गरेको छ। तत्कालका लागि यातायात सुचारु गर्न १०७ आरसीसी ग्रिफले आजैबाट नयाँ बेली ब्रिज जडानको काम सुरु गर्ने निर्णय गरिएको छ। ग्रिफका अनुसार आगामी एक साताभित्र पुल निर्माण कार्य सम्पन्न गरी सडक पुन: सञ्चालनमा ल्याइनेछ।









