९८ प्रतिशत गणना फाराम वितरण कार्य सम्पन्न
मङ्गन: मङ्गन जिल्लामा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियान अन्तर्गत गणना फाराम वितरण कार्यले तीव्र गति लिएको छ। अभियानको १८औँ दिन जिल्लाका योग्य मतदाताहरूलाई थप ७४८ वटा गणना फाराम (ईएफ) वितरण गरिएको छ।
यससँगै मङ्गन जिल्लाले फाराम वितरण कार्यमा एउटा ठूलो सफलता हासिल गरिसकेको छ। जिल्ला चुनाउ कार्यालयको पछिल्लो आँकडा अनुसार, हालसम्म जिल्लाका कुल मतदाताहरूमध्ये ९८ प्रतिशतलाई गणना फाराम वितरण गरिसकिएको छ, जसको सञ्चित सङ्ख्या ३१,७०३ पुगेको छ। अब यो वितरण प्रक्रिया जिल्लाभरि अन्तिम चरणमा पुगेको बुझिएको छ।
यसै बीच, मङ्गनका जिल्ला चुनाउ अधिकारीले जिल्लाका तमाम योग्य मतदाताहरूसँग विशेष अपील गरेका छन्। उनले मतदाता नामावलीको यस महत्वपूर्ण संशोधन प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र सफल बनाउनका लागि गाउँ-गाउँमा खटिएका बुथ स्तरीय अधिकारी (बीएलओ) हरूलाई पूर्ण सहयोग गर्न र गणना प्रक्रियालाई समयमै सम्पन्न गर्न सबै नागरिकहरूसँग आग्रह गरेका छन्।










