इम्फाल: मणिपुरमा पछिल्लो समय विकसित हुँदै गएको जातीय तनाव र सशस्त्र समूहहरूको गतिविधिबीच बुधबार काङपोक्पी जिल्लामा भएको एक घातक आक्रमणले फेरि सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। संदिग्ध सशस्त्र आतंककारीहरूको आक्रमणमा कुकी समुदायका तीन चर्च नेता र एक चालक गरी चार जनाको मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्।
घटना बिहान करिब १० बजे इम्फाल–तामेङलोङ राजमार्ग अन्तर्गत कोटलेन र कोट्जिम गाउँबीच भएको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार, आक्रमणमा नेशनल सोशलिस्ट कॉउन्सिल ऑफ़ नागालैंड (इसक – मुईवाह) अर्थात् एनएससीएन–आईएमसँग आबद्ध संदिग्ध सशस्त्र समूहको संलग्नता रहेको आशंका गरिएको छ। यद्यपि घटनाबारे आधिकारिक पुष्टि भने हुन बाँकी छ।
आक्रमणमा मारिनेहरू मणिपुर बापटिस्ट कान्वेंशनका पूर्व महासचिव रेभरेन्ड डा. वी. सिटल्हौ, रेभरेन्ड काइगौलुन, पास्टर पाओगोलेन तथा चालक लेलेन रहेको जनाइएको छ। उनीहरू थादोउ बापटिस्ट एसोसिएशनको सम्मेलनमा सहभागी भएर चुराचन्दपुरबाट काङपोक्पीतर्फ फर्किरहेका बेला आक्रमणमा परेका थिए।
स्रोतहरूका अनुसार, चर्चका प्रतिनिधिहरू दुई वटा सवारी साधनमा यात्रा गरिरहेका बेला बीच बाटोमा रोकेर गोली प्रहार गरिएको थियो। घटनापछि लियाङमाई नागा समुदायका करिब १० जनालाई बन्धक बनाइएको दाबीसमेत गरिएको छ। पुलिस तथा सुरक्षा निकायले घटनास्थल वरपर व्यापक खोजी अभियान सुरु गरेका छन्।
आतंकवाद र जातीय अस्थिरताले जटिल बन्दै मणिपुर:
गत एक वर्षदेखि मणिपुरमा कुकी, मैतेई र नागा समुदायबीचको अविश्वास तथा सशस्त्र समूहहरूको सक्रियताले राज्यको सुरक्षा अवस्था लगातार कमजोर बन्दै गएको छ। विभिन्न उग्रवादी संगठनहरूबीचको प्रभाव विस्तार, भू-नियन्त्रण र जातीय वर्चस्वको संघर्षले सर्वसाधारण नागरिकसमेत हिंसाको निशानामा पर्न थालेका छन्।
विशेषगरी सीमावर्ती पहाडी क्षेत्रमा सशस्त्र गतिविधि बढ्दै जाँदा धार्मिक संस्था, सामुदायिक नेता तथा यात्रुहरू समेत असुरक्षित बन्दै गएको स्थानीयहरूले बताएका छन्। पछिल्लो घटनाले धार्मिक नेतृत्वमाथि नै प्रत्यक्ष आक्रमण हुन थालेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
यस घटनापछि थाडो समुदायसँग सम्बद्ध विभिन्न संघ–संस्थाले काङपोक्पी जिल्लाको सदर पहाडी क्षेत्रमा पूर्ण बन्दको आह्वान गरेका छन्। स्थानीय बासिन्दाले दोषीमाथि तत्काल कारबाही र क्षेत्रको सुरक्षा सुदृढ गर्न माग गरेका छन्।










