गुवाहाटी: नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआईए) ले मणिपुरमा गत वर्ष भएको सब-डिभिजनल प्रहरी अधिकारी (एसडीपीओ) चिङ्गथम आनन्द कुमार सिंहको हत्यामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ। एनआईएले आज जारी गरेको विज्ञप्ति अनुसार पक्राउ पर्नेमा मणिपुरको तेङ्गनौपाल जिल्ला मोरेह निवासी ओत्खोथाङ्ग बाइटे रहेका छन्।
घटना ३१ अक्टोबर २०२३ को हो, जतिबेला मणिपुरमा जातीय हिंसा चरम अवस्थामा थियो। मोरेहस्थित एउटा खेल मैदानमा संदिग्ध कुकी उग्रवादीहरूले जिल्ला पुलिस टोलीमाथि अचानक आक्रमण गरेका थिए। उक्त आक्रमणमा उग्रवादीहरूले चलाएको गोली लागेर एसडीपीओ सिंहको मृत्यु भएको थियो। यो हत्या योजनाबद्ध र राज्यमा आतङ्क फैलाउने उद्देश्यले रचिएको एनआईएको अनुसन्धानबाट खुलेको छ।
सुरुमा मोरेह पुलिसले दर्ता गरेको यस मुद्दालाई मार्च २०२४ मा एनआईएले आफ्नो हातमा लिएको थियो। यसै महिनाको सुरुमा पुलिसले अर्का आरोपी कामगिनथाङ्ग गाङ्गटेलाई पनि पक्राउ गरिसकेको छ। हाल यस प्रकरणमा एनआईएले थप कानुनी प्रक्रिया र अनुसन्धान जारी राखेको छ।








