नयाँ दिल्ली: भारत सरकारले यस वर्षको कैलाश मानसरोवर यात्राका लागि चीनसँगको समन्वयमा अनलाइन आवेदन खुला गरेको छ। आगामी जुनदेखि अगस्टसम्म हुने यो यात्रा उत्तराखण्डको लिपुलेक र सिक्किमको नाथुला भञ्ज्याङ गरी दुई मार्गबाट सञ्चालन हुने विदेश मन्त्रालयले जनाएको छ। यात्राका साथै भारत र चीनले सन् २०२६ जुनदेखि लिपुलेक नाकाबाट द्विपक्षीय व्यापारसमेत पुनः सुरु गर्ने निर्णय गरेका छन्। लिपुलेक क्षेत्रलाई नेपालले आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको सन्दर्भमा दुई छिमेकी मुलुकबीचको यो सहमतिले काठमाडौँ र नयाँ दिल्लीबीचको कूटनीतिक सम्बन्धमा नयाँ तनाव पैदा गर्ने देखिएको छ।
विशेषगरी नेपालका प्रधानमन्त्री बालेन शाहका लागि यो विकासक्रम एउटा ठूलो कूटनीतिक परीक्षा सावित हुने देखिन्छ। सन् १८१६ को सुगौली सन्धि अनुसार काली नदीको मुहान लिम्पियाधुरा भएको र सो आधारमा लिपुलेक नेपालकै भएको दाबी नेपालले गर्दै आएको छ भने भारतले त्यसलाई ऐतिहासिक तथ्य विपरीत भन्दै अस्वीकार गर्दै आएको छ। नेपालले हालै आफ्नो नयाँ नोटमा समेत विवादित क्षेत्र समेटिएको नक्सा राख्ने निर्णय गरिसकेको अवस्थामा भारत र चीनको यो कदमले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाएको भन्दै विज्ञहरूले सरकारलाई कडा कूटनीतिक प्रतिवाद गर्न र लिपुलेकमा आफ्नै प्रशासनिक उपस्थिति बलियो बनाउन सुझाव दिएका छन्।









