मङ्गनमा ‘हाम्रो आँगनबाडी, हाम्रो जिम्मेवारी’ नाराका साथ पोषण महिना सम्पन्न

FB_IMG_1790011321731

​मङ्गन: महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागले ‘भविष्य भारत’ (मङ्गन) सँगको सहकार्यमा पोषण महिना २०२६ मनाएको छ। राष्ट्रिय नारा ‘हाम्रो आँगनबाडी, हाम्रो जिम्मेवारी’ अन्तर्गत आयोजित उक्त कार्यक्रममा पोषण, मातृ तथा बाल स्वास्थ्य एवं समग्र विकासमा आँगनबाडी केन्द्र र कार्यकर्ताको सामूहिक जिम्मेवारीबारे जोड दिइएको थियो।
​कार्यक्रममा मङ्गन जनजातीय परियोजनाअन्तर्गतका गम्भीर तथा मध्यम कुपोषित बालबालिकालाई निर्धारित मापदण्डअनुसार तयार पारिएको पोषणयुक्त पूरक आहार वितरण गरियो। साथै, पर्यवेक्षक तथा खण्ड समन्वयकहरूले पोषण महिनाको कार्यतालिका, ‘पोषण ट्र्याकर’मार्फत आँगनबाडी केन्द्रको लोकेसन अभिलेखीकरण र ‘प्रधानमन्त्री मातृ वन्दना योजना’अन्तर्गत दर्ता प्रक्रियाबारे जानकारी प्रस्तुत गरेका थिए।

सोही अवसरमा भविष्य भारतको टोलीले मातृ स्वास्थ्यको नियमित परीक्षण गर्नुका साथै जिल्ला अस्पताल मङ्गनको डीटीसी चिकित्सकीय टोलीले क्षयरोगसम्बन्धी (टीबी) परीक्षण समेत सञ्चालन गरेको थियो।
​स्थानीय पञ्चायत प्रतिनिधि, विभागका पदाधिकारी, स्वास्थ्यकर्मी, आशा तथा आँगनबाडी कार्यकर्ता र गर्भवती तथा स्तनपान गराइरहेका आमाहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको विभागले जनाएको छ।

About Author

Advertisement