मङ्गनमा अक्वाकल्चर बिमा र प्रधानमन्त्री मत्स्य किसान समृद्धि सह-योजना सम्बन्धी सचेतना कार्यक्रम

FB_IMG_1793706674468

​मङ्गन: राष्ट्रिय मत्स्य विकास बोर्ड (एनएफडिबी), उत्तर-पूर्वी क्षेत्रीय केन्द्र गुवाहाटी तथा सिक्किम सरकारको मत्स्य विभागको संयुक्त आयोजनामा मङ्गनस्थित डिएसी हल पेन्तोकमा मङ्गलवार एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। अक्वाकल्चर (जलकृषि) बिमा तथा ‘प्रधानमन्त्री मत्स्य किसान समृद्धि सह-योजना’ (पीएम-एमकेएसएसवाई) अन्तर्गत पाइने सुविधाहरूबारे किसानहरूलाई जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
​कार्यक्रममा स्वागत मन्तव्य राख्दै मत्स्य विभागका सहायक निर्देशक युवराज शर्माले राज्यमा मत्स्य पालनको सम्भावनाबारे प्रकाश पारेका थिए। साथै उनले ‘मुख्यमन्त्री मत्स्य उत्पादन योजना’लगायत राज्य सरकारका विभिन्न पहलहरूबारे सहभागीहरूलाई जानकारी गराए।
​एनएफडिबीका मुख्य कार्यकारीले मत्स्य पालन र अक्वाकल्चरलाई दिगो जीविकोपार्जनको माध्यम बनाउँदै ग्रामीण अर्थतन्त्र सुदृढ पार्ने उद्देश्यका साथ सञ्चालित सरकारी योजनाहरूबारे चर्चा गरे। उनले किसानहरूलाई यस क्षेत्रमा सक्रिय रूपमा लागेर उपलब्ध अवसरहरूको लाभ लिन आग्रहसमेत गरे।
​कार्यक्रमको प्राविधिक सत्रमा एनएफडिबीका स्रोतव्यक्ति तथा कार्यकारी सहायक शरद एस.टी.ले पीएमएमएसवाई, समूह दुर्घटना बिमा योजना, उद्यमशीलता मोडल, पीएम-एमकेएसएसवाई, राष्ट्रिय मत्स्य डिजिटल प्लेटफर्म (एनएफडिपि) र अक्वाकल्चर बिमाबारे विस्तृत जानकारी गराएका थिए। उनले एनएफडिपिमा दर्ता प्रक्रिया, योग्यता, आवश्यक कागजात र योजनाहरूको फाइदा लिने विधिबारे स्पष्ट पारेका थिए।
​कार्यक्रमलाई सम्बोधन गर्दै मङ्गनका एसडीएम सन्दीप कुमारले मत्स्य पालन क्षेत्रको सम्भावनालाई उपयोग गर्दै उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ लाग्न किसानहरूलाई प्रोत्साहन गरे। किसानहरूको सहभागिताले जीविकोपार्जनमा सुधार आउनुका साथै जिल्लाको आर्थिक विकासमा समेत सहयोग पुग्ने बताउँदै उनले प्रशासनिक सहयोगको प्रतिबद्धता जनाए।

About Author

Advertisement